close

काठमाडौं महानगरभित्र विपन्नको नि:शुल्क उपचारका लागि ३२३ शय्या ‘स्ट्यान्टबाइ’

काठमाडौं महानगरभित्र विपन्नको नि:शुल्क उपचारका लागि ३२३ शय्या ‘स्ट्यान्टबाइ’

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय र बेवारिसेको लागि सञ्चालन गरेको फ्री हेल्थ प्रणालीमा यही फागुन १ गतेदेखि कार्यान्वयनमा आएको छ । 

महानगरपालिकाका स्वास्थ्य विभागकी निमित्त प्रमुख सजिना महर्जनका अनुसार यस सहायता प्रणालीका लागि ४१ वटा अस्पताल र ३२३ शय्या ‘स्ट्यान्डबाइ’ रहेका छन् । 

‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ को कार्यान्वयनका लागि  महानगर क्षेत्र भित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पतालहरूलाई यसअघि नै स्वास्थ्य विभागले पत्राचार गरिसकेको थियो । 

‘स्वास्थ्य भएर बाँच्न पाउने तथा रोग लागेमा उपचारको सुविधा पाउने नागरिक अधिकार कार्यान्वयन गर्न विभिन्न चरणका प्रक्रिया पूरा भएका छन् ।’ निमित्त प्रमुख महर्जनले पालिकाखबरसँग भनिन्,‘अनलाइन प्रणालीमा आबद्ध हुन सबै अस्पतालहरूलाई अनुरोध गरेका छौँ । सम्पर्कमा आएका अस्पताललाई प्रणाली सञ्चालन गर्ने विधि सिकाएका छौँ ।’

लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन जारी गरिएको कार्यविधिमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा निर्देशक समितिको गठन भइसकेको छ । समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सरोकारवाला कार्यालयका प्रतिनिधिहरू सदस्य छन् । 

अस्पतालहरूमा उपचारको समन्वय र सहरीकरणका लागि महानगरपालिकामा चिकित्सकसहितको निःशुल्क उपचार सेवा एकाइ हुने कार्यविधिले व्यवस्था गरेको छ । एकाइमा सबै अस्पतालहरूमा उपलब्ध निःशुल्क शय्याको संख्या, उपयोग, रोग अनुसारको चिकित्सक सेवा सम्बन्धी विवरण हुने महानगरपालिकाले जनाएको छ । तथ्याङ्क र सेवाका आधारमा उपचारका लागि अस्पताल र बिरामीका बीच समन्वय र सहजीकरणको काम एकाइले गर्नेछ । 

उपचार प्रक्रियाका लागि बिरामीले वडालाई सिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लागि गर्ने सिफारिस, वडाले गर्ने सर्जमिन, बिरामीलाई उपचार दिँदा भर्नु पर्ने फाराम, दैनिक रजिस्टर, उपचार गर्ने बिरामी वा निजको आफन्तबाट प्राप्त गर्नु पर्ने विवरण, प्रतिवेदनका ढाँचा कार्यविधिको अनुसूचीमा राखिएका छन् ।