close

महानगरले एभरेष्ट अस्पतालको फोहोर नउठाउने

महानगरले एभरेष्ट अस्पतालको फोहोर नउठाउने

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले एभरेष्ट अस्पताल, नयाँ बानेश्वरको फोहोर तत्कालका लागि नउठाउने  भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गरिएको अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ । 

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि २०७९ बैसाख १६ गते पत्राचार गरेर ९ बुँदे सुधारका सुझाव दिइएको थियो । फोहोरको रेकर्ड राख्न, बिनहरुमा लेभल राख्न, फोहोर वर्गीकरण गर्न, बिसर्जन पूर्व संक्रमण भएको फोहोरलाई अटोक्लेभ गरेर संक्रमणरहित बनाउन, वातावरणीय अध्ययन गर्न त्यसबेला दिइएका सुझाव थिए । 

करिब २२ महिनाको अवधिमा पनि सुधारका कुनै संकेत नदेखिएको महानगरपालिकाले जनाएको छ । अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत नभएको, ढुवानीका लागि ट्रली नभएको र फोहोर भण्डारण व्यवस्थापन नभएको जस्ता लापर्वाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ । 

यसअघिको अनुगमनबाट महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमानका अनुसार हानीकारक फोहोर निर्मलीकरणपछि सामान्य फोहोर हुने प्रणाली कार्यान्वयनमा आएको सुनिश्चित भएपछि कारवाही फुकुवा हुनेछ ।