close

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गठन

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गठन

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली उत्पादनको पहुँच विश्व बजारमा पुर्‍याई युवा रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना भएको छ ।विश्वका विभिन्न मुलुकमा रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले विदेशमा नेपाली उत्पादनको प्रदर्शनी, बजारीकरणमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले शुक्रबार उक्त संस्थाको उद्घाटन गरे ।


डा. यादवले विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक भएकाले विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको उनको भनाइ छ । उनले विश्वभरबाट पर्यटक भित्र्याउन पनि संस्थालाई सहजीकरण गर्न सुझाए ।


नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेकाले नेपाली चलचित्रमा आधुनिक प्रविधिको प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागिपरेको बताए ।


नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले मुलुकको आर्थिक विकासमा विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि परिचालन गरिनुपर्ने आवश्यकता औँल्याए ।


उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमन पाण्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासंघले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।


कार्यक्रममा महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहले चीन, हङकङ, अमेरिका, बेलायत अस्ट्रेलियालगायत ११ ओटा मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्ध गरिने बताए ।