close

बुटवलमा चौथो राष्ट्रिय औद्योगिक मेला सुरु

बुटवलमा चौथो राष्ट्रिय औद्योगिक मेला सुरु

Trulli
ADVERTISEMENT

रूपन्देही–उद्योग व्यापार संघ बुटवलको आयोजनामा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ । मेला उद्घाटन बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ नारासहित औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो ।


मेला उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले आर्थिक विकास र समृद्धिका लागि सबै एक ठाउँ उभिनुपर्ने बताए । बुटवल लगानी केन्द्रको रूपमा विकसित हुँदै गएको दाबी गर्दै उनले विश्व बैंकको सूचकांकले नै बुटवललाई लगानीका लागि सुरक्षित नगरमा सूचीकृत गराएको उल्लेख गरे । सुवेदीले बुटवलमा आउँदो ३ वर्षमा साढे ६ अर्ब रुपैयाँ लगानी सुनिश्चित भइसकेको बताए ।


नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्रबिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले राष्ट्रिय पुँजीमार्फत औद्योगिकीकरण र व्यापार विविधीकरणमा सरकारको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।


संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले बुटवलका मुख्य ४ वटा व्यावसायिक संघ–संस्थामध्ये उद्योग व्यापार संघ कान्छो भए पनि जिम्मेवारी र सामाजिक उत्तरदायित्वमा पुराना संस्थाभन्दा कम नभएको दाबी गरे । 


मेला आयोजक संघ अध्यक्ष गोविन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी, व्यवसायी मारमा परे पनि सरकारले राहत दिन नसकेको गुनासो गरे । राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्ने उनले माग गरे ।

 

पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले मेला, महोत्सवले अर्थतन्त्र चलायमान बनाउन सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै मेलामा उपभोक्ताको हित र स्वास्थ्यलाई ध्यान दिन सुझाव दिए ।


२० पुससम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४७० स्टल रहेका छन् । मेला अवधिभर करिब ५० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघका महासचिव पदम जिसीले बताए ।  मेलामा १ लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, निःशुल्क दन्तशिविर, रक्तदान, लोकदोहोरी गायनलगायत आकर्षण रहेका छन् ।