close

सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न वडाध्यक्षको आग्रह

सीप सिकेर स्वदेशमै स्वरोजगार बन्न वडाध्यक्षको आग्रह

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सर्वजित भण्डारीले उद्यमीलाई सीप सिकेर विदेश जानुभन्दा स्वदेशमै स्वरोजगार बन्न सुझाएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजना तथा हिमा गाउँपालिका, वडापालिकाको समन्वयमा सात दिने स्याउ बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट सीपमूलक तालिम समापनमा वडाध्यक्ष भण्डारीले यस्तो आग्रह गरेका हुन् । 

 

‘पछिल्लो समय जुम्ली र स्याउ एकअर्काका पर्यावाची भएका छन्’, वडाध्यक्ष भण्डारीले भने, ‘जुम्लीको आयआर्जनको मुख्य आयस्रोत स्याउ हो । स्याउ खेतीबाट अधिकांश जुम्लीले जीविकोपार्जन गर्दै आएका छन् । स्याउका बिरुवा नभएका अहिले कुनै घर छैनन् ।’ 

 

सात दिने तालिमका प्रशिक्षक तथा हिमा गाउँपालिका कृषि शाखा प्रमुख बबरजंग शाहीले सीपमूलक तालिमको सहजीकरण गरेका थिए । उनले भने, ‘तालिममा सहभागी सबैका घरमा २ सयदेखि २ सय ५० बिरुवा छन् । यी सबै स्याउ उद्यमी हुन् । अहिले नेपालमा स्याउ बगैँचा व्यवस्थापन गर्ने नयाँ प्रविधि भित्रिएकाले यहाँका स्याउ किसानलाई आरी र सिकेचरसहित नयाँ प्रविधि र ज्ञान दिन आवश्यक छ ।’ 

 


उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले किसानको मागअनुसार सीपमूलक तालिम सञ्चालन गरिँदै आएको बताए । उनले भने, ‘उद्यमी बनाउन सीपमूलक तालिमसहित आवश्यक औजार वितरण गरिरहेका छौँ । नागरिकलाई स्वदेशमै स्वरोजगार बनाएर आयआर्जनमा सुधार ल्याउने कार्यक्रमको उद्देश्य हो ।’ 

 


किसान उद्यमी गजत नेपालीका अनुसार तालिममा १५ जना सहभागी थिए । ‘हामी सबैका २ सयदेखि २ सय ५० सम्म स्याउका बिरुवा छन्’, उनले भने, ‘सीप सिकेर स्याउका बिरुवा काँटछाँट तथा बगँैचा व्यवस्थापन गर्नुका साथै अरूका बिरुवा पनि काँटछाँट गरी आयआर्जन गर्न सक्ने भएका छौँ ।’ 

 

तालिममा १५ उद्यमीलाई एक÷एक आरी र सिकेचर वितरण गरिएको छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार जुम्लामा ०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यस्तै, ०७७ मा दोब्बरले घटेर ६ हजार २ सय १० मेट्रिक टन मात्रै उत्पादन भयो भने यो वर्ष चार गुणाले घटेर ६ हजार १ सय ६० मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

 


गत वर्षभन्दा यो वर्ष १ प्रतिशतले स्याउ उत्पादन घटेको छ । गत १६ र १८ वैशाख र ३–४ जेठमा असिना आउँदा जुम्ली स्याउ उत्पादनमा ठूलो गिरावट आएको हो । उनले भने, ‘सिँचाइ अभाव र मौसम परिवर्तनले उत्पादन घट्दै गएको छ । समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु, उचित बगँैचा व्यवस्थापन नहुनुलगायत कारण उत्पादन घटेको हो ।’

 


उत्पादित १० हजार ५ सय टनमध्ये ६० प्रतिशत निर्यात भइसकेको छ भने ४० प्रतिशत मात्रै जिल्लामा रहेको प्रमुख अधिकारीको भनाइ छ । स्याउ उत्पादन बढाउन बगैँचा व्यवस्थापनदेखि, मलजल, सिँचाइमा ध्यान पु¥याउन आवश्यक रहेको उनले बताए । जुम्लामा करिब १७ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् भने यहाँको १० हजार हेक्टरमा स्याउ खेती हुने अनुमान छ । तर, हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती भए पनि १ हजार ५ सय हेक्टरमा मात्रै उत्पादन भइरहेको छ ।