close

सीप सिकेर स्वरोजगार बन्दै चन्दननाथका महिला

सीप सिकेर स्वरोजगार बन्दै चन्दननाथका महिला

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । आर्थिक आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले सीप सिक्न थालेको चन्दननाथ नगरपालिका वडा नम्बर ६ की संगीता रावलले बताइन् । 

 

उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभास दिलाउँछौँ ।’ सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्न एक महिने हाते होजियारी सीप सिक्ने व्यवस्था गरेको थियो । ‘एक महिनासम्म आथिर्क आर्जन गर्ने सीप सिक्यौँ, संगिताले भनिन्, ‘अब घरमै बसेर सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छौँ ।’


उनीहरूले टोपी र मोजा बुन्न सिकेका हुन् । घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारमा बिक्री गर्न सकिनेछ । ‘यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउनेछ’, चन्दननाथ वडा नम्बर ४ की अमृता भारतीले थपिन्, ‘तालिमले व्यावसायिक बन्न पे्ररित गरेको छ । सानो लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले सहजै चलाउन सकिनेछ ।’


सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने उनको भनाइ छ । उनले भनिन्, ‘सीप सिकेर मात्र हुँदैन । उत्पादन गरी बेच्न सक्ने हैसियत बनाएका छौँ ।’ जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउन महिलालाई आग्रह गरे । बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने हुँदा सीपलाई सही सदुपयोग गर्न उनको सुझाव छ ।

 

‘सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नुपर्दैन’, उनले भने, ‘घरमै किन्न आउने वातावरण बन्छ । यो वातावरण बनाउन नगरपालिकाले पहल गर्नुपर्छ ।’ सामाजिक विकास कार्यलय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले विपन्न तथा आर्थिक रूपमा पछि परेका महिलाको आयआर्जनमा सुधार ल्याउन सीप दिइएको बताए । उनले भने, ‘सीप सिकेर धेरै महिला स्वरोजगार बनेका उदाहरण छन् । महिलाले सीप सिकेपछि स्वरोजगार बन्ने र आयआर्जनमा सुधार हुने अपेक्षा छ ।’

 

हिमाली महिला जागरण केन्द्र जुम्लाका अध्यक्ष छिरिङ ल्यामु लामाले विपन्न, असहाय महिलाको आयआर्जनमा सुधार ल्याउन सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा केन्द्रको आयोजनामा महिला आयआर्जनसम्बन्धी एक महिने सीपमूलक हाते होजियारी सीप दिइएको बताइन् ।
उनले भनिन्, ‘विपन्न महिलाको आयआर्जनमा सुधार ल्याउन यस्ता तालिम दिन आवश्यक छ । महिलाको आर्थिक स्तर माथि उकास्न केन्द्रले विभिन्न तालिम दिइरहेको छ ।’


प्रशिक्षक सरस्वती भारतीले एक महिनासम्म महिलालाई ऊन तथा ऊनको धागोबाट बुन्ने टोपी र मोजा बुन्न सिकाइएको बताइन् । उनले भनिन्, ‘सीप सिकेका महिला आफंैले टोपी र मोजा बुन्न सक्ने भइसकेका छन । थप दक्षता बढाउन सहयोग निरन्तर हुनुपर्छ ।’ चन्दननाथ नगरभित्रका १२ महिलाले सीप सिकेका हुन् । उनीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।