close

निजी क्षेत्रसँग सहकार्य गर्न मेयर पाण्डेयको प्रतिवद्धता

निजी क्षेत्रसँग सहकार्य गर्न मेयर पाण्डेयको प्रतिवद्धता

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुटवललाई मुलुककै आर्थिक केन्द्रको रुपमा विकास गर्ने आफूहरूको सपना रहेको बताउँदै त्यसको लागि निजी क्षेत्रको साथ सहयोग आवश्यक पर्ने बताएका हुन् । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र स्थानीय तथा क्षेत्रीय आर्थिक विकास परियोजनाको सहकार्यमा आयोजना गरिएको स्थानीय तथा क्षेत्रीय आर्थिक विकास सम्बन्धि अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले निजी क्षेत्रको समस्या बुझेको र निजी क्षेत्रले ल्याउने योजनालाई कसरी सम्बोधन गर्न सकिन्छ तयार रहेको बताएका हुन् । 

‘मध्यमार्गी योजना ल्याउनु होला, म तपाईहरूको साथमा छु, उद्योगी व्यवसायीका समस्या पनि समाधान हुनुपर्छ र नगरपालिका पनि चल्नुपर्छ,’ उनले भने । 

उनले पारी बुटवललाई सुधार गर्न सकियो भने वारीको व्यापार व्यवसाय पनि स्वतः फष्टाउने बताउँदै ऐतिहासिक बटौलीलाई कसरी चलायमान बनाउने र अमरपथ आसपासको बजारमा रात्रीकालिन व्यवसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा गहन अध्ययन गरेर सुझाव दिन आग्रह गरे । 

ठूला उद्योगी व्यवसायीलाई सम्मान र साना उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने कुरालाई आफूले चुनाव अगाडि पनि उठाएको बताउँदै सोही अनुसार साना साना व्यवसाय गर्दा पनि जिविकोपार्जन गर्न सकिन्छ भन्ने तथ्यलाई स्थापित गर्ने काममा आफू प्रतिवद्ध रहेको भनाइ दोहोर्‍याए । 

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको औद्योगिक विकासको लागि उद्यमशिलतासँग सम्बन्धित कार्यक्रममा सहयोग गर्न आग्रह गरे । 

त्यस्तै, जिआईजेडका प्रतिनीधि सुरेश बरालले आफूहरूको अध्ययनबाट बुटवलमा लगानीको राम्रो सम्भावना देखिएको बताए ।