सिन्धुपाल्चोक– सुन्दर घर अनि शान्त वातावरणमा बस्ने रहर कसलाई हुँदैन ! त्यो पनि दुर्गम गाउँमा । भोटेकोसी गाउँपालिका–५ त्याङथलीमा बनाइँदै गरेको एकीकृत बस्ती भूकम्पपछि निर्माण गरिएको छ ।
चिटिक्क परेका घर, घरअगाडिको बगैंचामा थरीथरीका फूलले बस्तीको वातावरण नै हेर्न लायक देखिन्छ । घरभित्र पस्ने स्थलमा आकर्षक ढुंगा कुँदिएर बनाइएको सुन्दर गेटले झनै मन लोभ्याउँछ । एकीकृत बस्तीभित्रका घर र त्यहाँको दृश्य कुनै सुविधासम्पन्न रिसोर्टजस्ता लाग्छन् ।
राजधानीबाट करिब १ सय किलोमिटरको दूरीमा अवस्थित नेपाल–चीन सीमा भोटेकोसी गाउँपालिका–५ त्याङथलीमा भूकम्पबाट घरबारविहीन भएकाहरूलाई बास बसाउने उद्देश्यले निर्माण गरिएको एकीकृत बस्ती जोकोहीको आकर्षणमा पर्छ ।
भोटेकोसी गाउँपालिकाको नयाँ पुलमा रहेको बन्जीजम्पभन्दा डेढ किलोमिटरको दूरीमा अवस्थित एकीकृत बस्ती भूकम्पपछि सिन्धुपाल्चोकमा निर्माण भएका एकीकृत बस्तीमध्ये सबैभन्दा उत्कृष्ट मानिएको छ ।
०७२ को भूकम्पपछि ६ वर्षको अवधिमा सिन्धुपाल्चोकमा धेरै घरहरू निर्माण सम्पन्न भएका छन् । निर्माण हँुदै गरेका र सुरुआत हुँदै गरेका २४ एकीकृत बस्ती पनि छन् । तीमध्ये त्याङथलीको एकीकृत बस्तीको छुट्टै विशेषता छ ।
इतिहासकारका अनुसार, राष्ट्रिय विभूति अरनिको चीनको तिब्बत जाने क्रममा अहिले निर्माण हुँदै गरेको एकीकृत बस्ती रहेको भोटेकोसी गाउँपालिकाको त्याङथलीमा एक रात बास बसेको प्रमाण रहेको स्थानीय एवं एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष कुमार राउतले जानकारी दिए ।
अरनिको बास बसेको ठाउँ भएको र सिन्धुपाल्चोकमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि नमुना एकीकृत बस्ती निर्माण सुरु गरिएको अध्यक्ष राउत बताउँछन् ।
भोटेकोसी गाउँपालिका पर्यटकीय दृष्टिले सम्भावना बोकेको स्थानमा पर्छ । साहसिक खेलका रुपमा परिचित बन्जी गर्ने पुलनजिकै त्याङथलीका स्थानीय राउत समुदायले दुई वर्षअघि नयाँ शैलीमा बस्ती निर्माणको योजना बुनेका थिए ।
‘भूकम्पपछि पुराना घरहरू सबै भत्किए । भूकम्पपीडितलाई नयाँ घरमा बसाउन र पर्यटकहरूलाई पनि आकर्षित गराउने उद्देश्यले समृद्ध नेपाल नामक संस्था दर्ता गरी अरनिको पाहुना घर निर्माण सुरु गरेका हौं’, समृद्ध नेपालका अध्यक्ष कुमार राउत भन्छन् ।
नयाँ मोडलका बस्ती बनाउन धेरै ठाउँ पुगेर हारगुहार गरे पनि सुरुमा कतैबाट पनि सहयोग नपाएको उनी सुनाउँछन् । मोडल बस्ती निर्माणको पहल गर्दा स्थानीयले कुटपिट गरेको सम्झना अझै ताजा छ, राउतसँग ।
तर, अहिले बस्ती निर्माणको सपना साकर हुँदै गएपछि विगतमा विरोध गर्नेले पनि गल्ती महसुस गर्न थालेको उनले बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख सन्तोष निरौला परम्परालाई जोगाउँदै त्यसमा केही आधुनिकता थपेर बसाइएका बस्तीले सबैलाई लोभ्याउने बताउँछन् ।
‘हामी आफ्नै हिसाबले घर निर्माण गरिरहेका थियौं । उहाँहरू आएर थप सहयोग पाएपछि अहिले योजनाले सार्थकता पाउँदै गएको छ’, अध्यक्ष राउत भन्छन् ।
घर निर्माणका लागि लाभग्राहीले पाउने ३ लाखबाहेक बाहिरी पूर्वाधार निर्माणमा पुनर्निर्माण प्राधिकरणले सहयोग गरेको छ । गत वर्ष पूर्वाधार निर्माणका लागि प्राधिकरणले ४० लाख रुपैयाँ उपलब्ध गराएको थियो भने यो वर्ष पनि बस्तीका लागि ४० लाख बजेट आएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले जानकारी दिए ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अरनिको पाहुना घरमा अहिले १० घर निर्माण सम्पन्न हुने क्रममा छन् । घरमा भान्साकोठासहित चार कोठा छन् भने शौचालयसमेत भित्रै छ । घरको भुइँमा पार्केटिङ गरिएको छ । ढुंगाको छानो, ढुंगा काटेर बनाइएका थाम, पुराना घरमा प्रयोग हँुदै आएको टुँडाललगायतका सामानबाट घर निर्माण गरिएको छ ।
एउटा घर निर्माण पूरा हुँदा करिब ५५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको अध्यक्ष राउतले बताए ।
बस्तीको प्रवेशबिन्दुमा अरनिकोको मूर्तिसहितको प्रवेशद्वार निर्माण भइरहेको छ भने बस्ती परिसरमा वाटर फाउन्टेन, नेपालका प्रसिद्ध मन्दिरहरूको मूर्ति पनि राखिँदै छ ।
आउँदो वैशाखभित्र बस्ती निर्माण सम्पन्न हुने अध्यक्ष राउत बताउँछन् । बस्तीको पूर्वाधार निर्माणलगायतका संरचनाका लागि पुनर्निर्माण प्राधिकरणले ८० लाख बजेट उपलब्ध गराएको डिएलपीयुका प्रमुख निरौलाले जानकारी दिए ।
पर्यटक आकर्षित गर्न होमस्टे
अरनिको पाहुना घर नाम दिएर निर्माण हुँदै गरेको बस्तीमा स्थानीयले होमस्टे सञ्चालन गर्ने योजना बनाएका छन् । ‘यस क्षेत्रमा आउने पर्यटकलाई होमस्टेमार्फत बास बसाउने योजना बनाएका छौं’, बस्ती निर्माण समितिका अध्यक्ष राउत भन्छन्, ‘आन्तरिक र बाह्य पर्यटकहरू यहाँ आएर पारिवारिक वातावरणमा रमाउन सक्नेछन् ।’