close

म्याग्दीका चार स्थानीय सरकारले बनाए ४० किलोमिटर सडक 

म्याग्दीका चार स्थानीय सरकारले बनाए ४० किलोमिटर सडक 

Trulli
ADVERTISEMENT

गत आर्थिक वर्ष ०७६-०७७ मा म्याग्दीका चार  स्थानीय तहले ४० किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । चार किलोमिटर सडक स्तरोन्नति गरेका बेनी नगरपालिका, धवलागिरि, मंगला र अन्नपूर्ण गाउँपालिकाले पाँच किलोमिटरभन्दा बढी नाली निर्माण सम्पन्न भएको जनाएका हुन् ।  

बेनी नगरपालिकामा १ किलोमिटर सडक ढलान, ३.५ किलोमिटर ग्राभेल, ८.२५ किलोमिटर नयाँ ट्रयाक खोलिएको र ३.४ किलोमिटर सडकमा नाली बनाएको इन्जिनियर विमलरञ्जन कार्कीले जानकारी दिए ।

१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकामा कोरोनाको जोखिम र बन्दाबन्दीका कारण पूरा हुन सकेन ।

इन्जिनियर कार्कीका अनुसार बेनी नगर क्षेत्रमा गत वर्ष १३ वटा पार्क, मन्दिर र पिकनिक स्पट निर्माण भएका छन् । निजी धारासहितका १५ वटा खानेपानी आयोजना निर्माण सकिएको नगरपालिकामा १०.९ हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ ।  

धवलागिरि गाउँपालिकामा गत वर्ष ७ किलोमिटर सडकको ट्रयाक निर्माण भएको इन्जिनियर सोविन जिसीले बताए । गत वर्ष धवलागिरि गाउँपालिका–४ मुदीमा पालिकाले सडकले जोडेको थियो । 
वडा नम्बर ५ मल्कवाङमा पूर्वाधार विकास कार्यालयले प्रदेश सरकारको बजेटमा सडक जोडेको थियो । 

पालिकामार्फत मुदी जोड्ने सडकमा १ किलोमिटर, ताकमदेखि देविस्थान जोड्ने सडकको ८.५० मिटर मुसरबारीदेखि शिवाङ जोड्ने १.३० मिटर, गौडामुनीदेखि कल्लेनी पुल जोड्ने ६ सय मिटर, मराङमा १.२ किलोमिटर  सडक मार्ग खोलिएको छ । 

गुर्जामा १ हजार ३ सय मिटर आन्तरिक सडक निर्माण र मुना हँुदै सोलबाङ जोड्ने सडकको ८ सय मिटर ट्रयाक खुलेको छ । अन्नपूर्ण गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीका अनुसार गत वर्ष ११ किलोमिटर  सडकको नयाँ ट्रयाक खोलिएकामा र २ किलोमिटर स्तरोन्नति भएको छ ।

``
 धवलागिरि गाउँपालिका–४ मुदी जोड्ने सडक 

पर्यटकीय स्थलमा ९.६५ मिटर नयाँ पदमार्ग निर्माण र ३ किलोमिटर पुराना पदमार्ग स्तरोन्नति भएका छन् । मंगला गाउँपालिकामा गत आर्थिक वर्षमा ४.२० मिटर सडक ढलान, ५.६० मिटर ग्राभेल र १३ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको इन्जिनियर सुजन पौडेलले बताए ।

बाबियाचौरमा कालोपत्रेका लागि ग्राभेल गरिएको छ । ११ वटा खानेपानी आयोजना निर्माण सकिएपछि ३ सय ८० घरपरिवार लाभान्वित भएका छन् । ३ सय मिटर ढल निकास गर्ने नाली र १० हेक्टरमा सिँचाइ सुविधा विस्तार भएको छ । 

मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाले सडक निर्माण र स्तरोन्नतिको विवरण तयार भइनसकेको बताएका छन् । म्याग्दीका ६ वटा पालिकामा ४५ वडा छन् । 

धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक अन्य ४४ वटा वडालाई सडकले छोए पनि यातायात नियमित छैन । बर्खामा सडक अवरुद्ध हुने हुँदा सर्वसाधारणले महँगो गाडी भाडा तिर्नुपर्ने बाध्यता छ । 
आव ०७७-७८ का लागि म्याग्दीका स्थानीय सडकमा कुल पुँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरिएको छ । स्थानीय पालिकाले कुल २ अर्ब ६२ करोड ६२ लाख ४१ हजार ५ सय ९३ रुपैयाँको बजेट ल्याएका छन् ।

६ वटा पालिकाको पुँजीगततर्फको कुल बजेट ८८ करोड ६३ लाख ७५ हजार ८९ रुपैयाँ छ । पालिकाहरूले सडक पूर्वाधारका लागि २५ करोड ३८ लाख १ हजार ५ सय ८० रुपैयाँ अर्थात्  २८ प्रतिशत बजेट छुट्याएका हुन् ।