म्याग्दी - जिल्लाको मालिका गाउँपालिका–७ बिमको धुनोट गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरण र मालिका गाउँपालिकाको सहकार्यमा धुनोटमा विद्युतीकरण गरिएको हो । ३९ घरधुरीको बसोबास रहेको धुनोट गाउँमा केन्द्रीय लाइनको बिजुली बालिएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए ।
धुनोटमा विद्युतीकरणका लागि मालिका गाउँपालिकाले आव ०७५/०७६ मा ९ लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘गत चैत महिनामै बिजुली बाल्ने गरी सबै तयारी भएको थियो’, वडाध्यक्ष जुग्जालीले भने, ‘कोरोनाको जोखिम र लकडाउनका कारण रोकिएको बिजुली बाल्ने योजनाले पूर्णता पाएको छ ।’
धुुनोटसहित बिमका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा पुगेको छ । गत असार २५ र २६ को पहिरोका कारण बिममा अवरुद्ध विद्युत् स्थानीय युवा क्लबको अगुवाइमा मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।
धुनोटका बासिन्दाले यसअघि उज्यालोका लागि पेल्ट्रिक सेट र सोलार प्रयोग गर्दै आएका थिए । केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि स्थानीयको दैनिकी सहज हुनेछ ।