close

योजना अलपत्र पार्ने ठेकेदारलाई थाहा नगरपालिकाको चेतावनी

योजना अलपत्र पार्ने ठेकेदारलाई थाहा नगरपालिकाको चेतावनी

Trulli
ADVERTISEMENT

मकवानपुर- थाहा नगरपालिकाले काम नगर्ने ठेकेदारलाई कारबाहीको चेतावनी दिएको छ । ठेक्का सम्झौतापछि थोरै काम गरेर सम्पर्कविहीन भएका दुई ठेकेदारलाई नगरपालिकाले ७ दिनभित्र सम्पर्कमा आउन बिहीबार सूचना जारी गरेको हो ।


तोकिएको समयभित्र सम्पर्कमा नआए कानुनबमोजिम कारबाही प्रक्रियामा जाने चेतावनी नगरपालिकाले दिएको छ । प्रोग्रेसिभ कन्स्ट्रक्सन कालीमाटी काठमाडौंका नाममा आशिक कार्की र एम एन्ड टी कन्स्ट्रक्सन सिन्धुपाल्चोकका नाममा शम्भु बानियालाई कारबाही गर्ने चेतवनी नगरपालिकाले दिएको हो । प्रोग्रेसिभ कन्ट्रक्सनले आव ०७५/७६ मा बसपार्क, पालुङ-बँदेली सडक र थाहा पार्कको निर्माण गर्न ठेक्का पाएको थियो ।


सम्झौताअनुसार उक्त योजना २०७६ असार मसान्तसम्म पूरा गरिसक्नुपर्ने थियो । एम एन्ड टी कन्स्ट्रक्सनले ७ र ८ नम्बर वडा कार्यालय निर्माणका लागि आव ०७४/७५ मा सम्झौता गरेको थियो । वडा कार्यालयको निर्माण २०७५ असारसम्म सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म पूरा नगरेको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । कार्यालयका योजना शाखा प्रमुख विवेक बिडारीका अनुसार वडा कार्यालयको प्लास्टर र झ्यालढोका हाल्न बाँकी छ ।


प्रोग्रेसिभ कन्स्ट्रक्सनले बसपार्कको करिब ७० प्रतिशत काम गरिसकेको र विविध समस्या देखाएर हालसम्म योजना अलपत्र पार्दै आइरहेको बिडारीले पालिका खबरलाई जानकारी दिए । उनका अनुसार थाहा पार्कको काम करिब ५० प्रतिशत मात्रै भएको छ । पालुङ-बँदेली सडक कालोपत्रे गर्न बाँकी राखेर ठेकेदार सम्पर्कविहीन भएको बिडारीले बताए ।


सूचना जारी भएपछि प्रोग्रेसिभ कन्स्ट्रक्सनका आशिक कार्की सम्पर्कमा आएका छन् । ‘आशिक कार्की भर्खरै कार्यालयको सम्पर्कमा आएका छन् । अब छिट्टै काम सुरु गर्ने प्रतिबद्धता जनाएका छन्’, बिडारीले भने । एम एन्ड टी क्न्ट्रक्सन समाचार तयार पार्दासम्म सम्पर्कमा आएको छैन ।


‘काम नगरी हिँड्नेलाई छाडिन्न । सम्पर्कमा आएर काम सुरु गर्नुको विकल्प छैन । यदि नगरे कानुनी कारबाहीको प्रक्रिया तत्काल अगाडि बढाउँछौं’, नगरप्रमुख विष्टले भने । उनले थाहा नगरमा ५ वटा योजना अलपत्र रहेको बताए ।