close

खिजीबासीलाई सदरमुकाम जोड्न छिमेकी जिल्ला घुम्नुपर्ने बाध्यता हट्यो (भिडियाे खबर)

दुर्गम गाउँमा सडक पुग्दा स्थानीय फुरुङ

खिजीबासीलाई सदरमुकाम जोड्न छिमेकी जिल्ला घुम्नुपर्ने बाध्यता हट्यो (भिडियाे खबर)

दुर्गम गाउँमा सडक पुग्दा स्थानीय फुरुङ

ADVERTISEMENT

ओखलढुंगा– मोलुङ गाउँपालिकाको वडा नम्बर ६ श्रीचौरदेखी ओखरबोट हुँदै खिजीदेम्वा गाउँपालिका जोड्ने सडक खुलेको छ । यो सडक खुलेसँगै खिजीदेम्वाका नागरिकलाई सदरमुकाम ओखलढुंगा आवत जावत गर्न छिमेकी जिल्ला घुम्नु पर्ने बाध्यता टरेको छ ।


यसअघि खिजीदेम्वाका सर्वसाधारण जिल्ला सदरमुकाम पुग्न छिमेकी जिल्ला कि सोलखुम्बु, कि रामेछप, सिन्धुली र उदयपुर घुम्नुपर्ने बाध्यता थियो । श्रीचौरको यलुङखोलादेखि ओखरबोट, हातेबन्से हुँदै खिजीदेम्वाको केन्द्र जोडिएको छ ।


सडक पुगेपछि अनुगमन गर्न खिजीदेम्वा र मोलुङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित सांसद यज्ञराज सुनुवार पुग्दा फुलमाला लिएर सयौं स्थानीय भेला भएका थिए । ‘सडक पुगेको खुसियाली साट्न आएका हौं’, खिजीदेम्वाका स्थानीय मेघराज घिमिरेले भने ।


निकै कडा चट्टान र डरलाग्दो भीर फोडेर सडक पुर्याउन स्थानीय तहले आँट गरेका थिएनन् । यस क्षेत्रका संघीय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि सांसदलाई दिइने बजेटबाट पटक पटक गरेर १ करोड १ लाख विनियोजन गरेका थिए । यसमा खिजीदेम्वा गाउँपालिकाले ४० लाख थपेपछि सडकको ट्रयाक खुलेको हो ।


यो सडकको झण्डै ३५ किलोमिटर चट्टान काटिएको छ । ३ सय घण्टा जति त पहरो फुटाउन ब्रेकर चलाइएको मोलुङ गाउँपालिका ६ का वडा अध्यक्ष रामकाजी तामाङले बताए ।


खिजीदेम्वा र मोलुङलाई जोड्दै आफ्नो क्षेत्रको भूभागमा सडक पुर्याउन २०७४ सालदेखि सांसद यज्ञराज सुनुवार, खिजीदेम्वा र मोलुङ गाउँपालिकाले सामुहिक प्रयास थालेका थिए । ‘यो जनप्रतिनिधिको संयुक्त प्रयासको प्रतिफल हो’, खिजीदेम्वा गाउँपालिकाका अध्यक्ष बेदबहादु रोकाले खुसी हुँदै भने ।


आगामी दिनमा पनि यसरी जनप्रतिनिधिबीचको सहकार्यले थप विकासका काम सहज रुपमा गर्न सकिने उनको बुझाइ छ ।


यो सडक लेक र बेँसी जोड्ने भएकाले लेकाली क्षेत्रका अग्र्यानिक उत्पादनले बजार पाउनेमा स्थानीय आशावादी छन् । खिजीकातिका देवकृष्ण खड्का यो सडक समृद्धिको आधारशील भएको बताउँछन् । सडकको ट्रयाक खुलेपछि यसको स्तरोन्नतिका लागि सर्भे समेत शुरु हुने भएको छ ।

 

सडक स्तरोन्नति गरेर यहाँ आएका गाडीमा स्थानीय उत्पादन निर्यात गर्दै कृषि क्षेत्रमा जोड्ने गाउँपालिकाको प्रयास रहने मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए ।


यो सडक खुलेसँगै खिजीदेम्वाबाट मोलुङ गाउँपालिका केन्द्र हुँदै सदरमुकाम ओखलढुंगा आइपुग्न ५ घण्टा लाग्छ । यस अघि हिडेर जाँदा दुई दिन लाग्ने गरेको थियो । सवारी साधन छिमेकी जिल्ला हुँदै मात्र चल्ने गरेका थिए ।