close

नाम सल्यानटार, सधैँ पानीको हाहाकार

नाम सल्यानटार, सधैँ पानीको हाहाकार

Trulli
ADVERTISEMENT

धादिङ- हिउँद होस् या बर्खा, धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्छ । देशभरका ठूला टारमध्येमा पर्ने सल्यानटारलाई त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर– १ र २ मा विभाजन गरिएको छ ।

 

 


पहिला सिंगो टारलाई सल्यानटार गाविस बनाइएको थियो । नामले निकै चर्चामा रहे पनि यहाँका बासिन्दालाई खानेपानीको हाहाकारले सधैँ पिरोल्ने गर्छ ।  

 

 


उचाइमा रहेको वस्ती भएका कारण सल्यानटारमा पानीको मुहान भेट्नै मुस्किल पर्छ । वस्ती नजिकै पानीको स्रोत नभएपछि गाउँवासी पानी लिनका लागि हरेक दिन घन्टौँ धाउनुपर्ने बाध्यता छ ।


बीचमा कुनै खोलाखोल्सीसमेत नभएको सिंगो एउटै टारका बासिन्दाले खानेपानीका लागि केन्द्रदेखि स्थानीय तहसम्म हारगुहार गरिरहेका छन् ।


सिँचाइका लागि पानी नहुँदा सुख्खा खेती मात्रै हुने गरेको सल्यानटार प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र नजिकै पर्ने भएकाले अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ । केही वर्षयता यहाँ नयाँ घर बनाउने र घडेरी किन्नेहरूको संख्या थपिँदो छ । तर, खानेपानी अभावमा स्थानीय वर्षौंदेखि भौँतारिइरहेका छन् ।


भूकम्पपछि स्थानीयले सल्यानटारमा व्यवस्थित घर निर्माण गर्न थालेका छन् भने बूढीगण्डकी आयोजना बन्ने आसमा यहाँ घडेरी किन्नेहरूको संख्या बढेको छ । अहिलेसम्म टार क्षेत्रमा एक हजार ५०० भन्दा बढी घडेरी बिक्री भइसकेका छन् । बसोवासका लागि उपयुक्त देखिए पनि यहाँ खानेपानीको भने समस्या झनै बढेको छ ।


बूढीगण्डकी र नेत्रावती (आँखु) नदीबीचको टापुको रूपमा रहेको सल्यानटारमा बढ्दै गएको खानेपानी अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न मनपाङखोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गाउँदेखि केन्द्रसम्मको सरकारलाई घचघच्याइरहेको छ ।


समुदायको अग्रसरता र स्थानीय त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वयमा वस्तीभन्दा माथि सात किलोमिटर टाढाको मनपाङखोलाबाट गाउँसम्म खानेपानी ल्याउने पहल सुरु भएको छ ।


खानेपानी विभागअन्र्तगतको सहलगानी कोषले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरी खानेपानी लाइन विस्तारका लागि सर्भे सुरु गरेको छ ।


मनपाङखोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमारी थापाका अनुसार करिब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको खानेपानी आयोजना सञ्चालन गर्न कोषले विस्तृत अध्ययन थालेको हो ।


कोषका प्राविधिक कर्मचारी यतिबेला सल्यानटारमा गाउँगाउँ पुगेर सर्भे गरिरहेका छन् भने उपभोक्ता समिति लागत साझेदारीका लागि चाहिने ३० प्रतिशत नगद जुटाउन उपभोक्ता र सरोकारवालासँग छलफलमा जुटेको अध्यक्ष थापा बताउँछिन् ।


खानेपानीको समस्याले समुदायले भोग्नु परेको पीडा कम गर्न त्रिपुरासुन्दरी गाउँपालिकाले सहलगानी कोषको आयोजना सफल पार्न साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ । गाउँपालिकाका अध्यक्ष शम्भु थापा र उपाध्यक्ष देवी बुर्लाकोटीले सल्यानटारको सबैभन्दा ठूलो समस्या खानेपानी रहेकाले दिगो समाधानका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको उपभोक्ता समितिका अध्यक्ष थापा सुनाउँछिन् ।