close

नगर फराकिलो बनाउने अभियानमा स्थानीयको लाठीमुंग्री

नगर फराकिलो बनाउने अभियानमा स्थानीयको लाठीमुंग्री

Trulli
ADVERTISEMENT

बाग्लुङ- साँघुरो बजार, भिरालो भूभाग भएकाले गुजुमुक्क पारेर बनाइएका घर । लामो समयदेखि त्यहीं साँघुरो बजारबाट जिल्लाको दक्षिण क्षेत्रको व्यापार व्यवसाय चल्यो । 


बाग्लुङको दक्षिण व्यापारिक केन्द्र हो, कुश्मीसेरा बजार । तत्कालीन गाविस हुँदा चारवटा गाविसको संगममा पथ्र्यो कुश्मीसेरा । 


राज्य पुनर्संरचनासँगै बनेको जैमिनी नगरपालिकाको केन्द्र पनि त्यहीं तोकियो । १० वडाको नगरको मुकाम बनेको सेरा बजार सुधार योजना नगरपालिकाले बनायो । 


व्यापारिक र प्रशासनिक कामसमेत सोही बजारबाट हुने भएपछि सुधार आवश्यक थियो । पहिलो वर्ष नै बजार क्षेत्रको सडक सुधार योजना नगरले ल्यायो । ‘सडक नालीबाट हामीले सुधार थालेका हौँ,’ नगर प्रमुख इन्द्रराज पौडेल भन्छन्, ‘बजार फराकिलो बनाउने अभियान जारी छ ।’


एक वर्षमै सक्ने गरी थालिएको काम तीन वर्षसम्म पनि सकिएको छैन । साँघुरो बजारलाई फराकिलो र सुन्दर बनाउने काममा आफैँले बनाएको नीतिगत व्यवस्था कडाइसाथ कार्यान्वयन नगर्दा सुधारको काम प्रभावित भएको छ । 


दुई भागमा बाँडिएको सेराको उपल्लो बजारमा रहेका घरको व्यवस्थापन गर्न नगरपालिकाले नसकेको हो । ‘बजारवासी आफैँले घर सारेर फराकिलो बनाउँछौँ भनेका छन् । काम पनि चलिरहेको छ,’ पौडेल भन्छन्, ‘सैनिक टोल र उपल्लो बजार फराकिलो बन्दा  मुकाम सुन्दर हुनेछ ।’ 


जैमिनी नगरपालिकाले दुई वर्षअघि सडकको मापदण्ड बनाएको छ । मुख्य सडक १८ मिटर, वडास्तरीय सडक १४ मिटर र शाखा सडक आठ मिटर चौडाइ बनाउने मापदण्डमा उल्लेख छ । तर, पालिकाको मुकाममा रहेको सडकको भने चार मिटर चौडाइसमेत छैन । त्यही मापदण्ड लागू गर्न नसकेका कारण बजार विस्तारको काम रोकिएको हो ।


‘गरेनन् भनौँ जनप्रतिनिधि आएपछि छिस्ती र उपल्लो दमेक जस्ता ठाउँमा सडक पुग्यो । गरे भनौँ काम गर्ने तौरतरिका मिलेन,’ कुश्मीसेरा बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर श्रीषले भने, ‘घर फालेर सडक बनाउने काममा यतिका समय अल्झिनुहुँदैन, सरकार भनेको त विधि बनाएर लागू गर्ने निकाय हो ।’

 
अहिले पनि कुश्मीसेरा बजार एकै ठाउँ जोडिएका घरले भरिएको छ । सडकको मापदण्ड कायम गर्ने र बजारलाई फराकिलो बनाउने काम नगरले थाले पनि बेलाबेला बजारवासीले गर्ने विरोधका कारण काम अल्झिने गरेको नगरप्रमुख पौडेल बताउँछन् । 


बजारबासी आफैँले भत्काउने भनेका घरहरू समयमा नभत्काउँदा समस्या भएको हो । कहिले बजारको बीचबाट मुख्य सडक बनाउने त कहिले शाखा सडक मात्र बनाउने बजारवासीको मागका कारण काम रोकिएको इञ्जिनियर रामकृष्ण पौडेलले जानकारी दिए ।


बाग्लुङ-बरेङ-शान्तिपुर सडक शेरा बजारको मुख्य भागबाट दिने वा आसपासबाट लैजाने भन्नेमा निधो नगर्दा समस्या भएको हो । ‘बजारभन्दा तल्लो भागबाट मुख्य सडक लैजाने र बजारको बीचमा शाखा सडक बनाउने सहमति भएको छ,’ पौडेलले भने, ‘सडक विभागसँगको सहकार्यमा बजार क्षेत्रको सडकसमेत सुधार गर्दै छौँ ।’ 


एक वर्षमै सुन्दर बनाउने भनिएको पालिका मुकाम तीन वर्ष समय बितिसक्दासमेत भद्रगोल अवस्थामा देखेर स्थानीय असन्तुष्ट छन् । ‘छिमेकी पालिका बरेङले कत्रो प्रगति गरेको छ, हाम्रोमा त कर मात्र थुपारेका छन्,’ स्थानीय सुजन परियारले भने, ‘नगरपालिका भनेर कर बढाए तर काम गरेनन् ।’ 


१० वटा वडा रहेको नगरपालिकाले पालिका मुकामकै सुधार विस्तार गर्न नसकेको स्थानीयको गुनासो छ । बजारका पुराना घर भत्काएर नयाँ घर बनाएपछि मात्र स्थानीयले सडकको भाग छाड्ने गरेका छन् । 


नगरका केही स्थानमा कच्ची सडक पुर्‍याउनेबाहेकका काममा नगरले ध्यान दिन नसकेकाले बजारको दुरावस्था देख्नुपरेको परियार बताउँछन् । लामो समय बजार विस्तारमा खर्चेको नगरपालिकाले काम भइरहेकाले अझै एक दुई वर्षमा मापदण्डअनुसारको सडक र सुन्दर बजार बन्ने दाबी गर्न भने छाडेको छैन ।