close

कच्ची सडक मुक्त अभियानमा हेटौंडा उपमहानगर

कच्ची सडक मुक्त अभियानमा हेटौंडा उपमहानगर

Trulli
ADVERTISEMENT

मकवानपुर - बाग्मती प्रदेशको राजधानी हेटौंडा उपमहानगरले कच्ची सडक मुक्त अभियानलाई निरन्तरता दिएको छ । प्रदेशको एक मात्र उपमहानगर हेटौंडाले कच्ची सडकलाई पक्की बनाउँदै नयाँ ट्रयाक खोल्ने कार्यलाई तीव्रता दिएको हो ।


गत आर्थिक वर्ष ०७६/७७ मा हेटौंडाका १९ वटै वडामा ३१ हजार ५ सय ७५ मिटर सडक स्ल्याब ढलान गरिएको छ । कच्ची सडकलाई पक्की बनाउने अभियानअन्तर्गत १ हजार १ सय १ मिटर सडकलाई कालोपत्रे गरिएको हेटौंडाका नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए ।


स्ल्याब र कलोपत्रेका लागि ४० करोड ९५ लाख २ हजार रुपैयाँ खर्च भएको महतले बताए । ‘मेरो  कार्यकालभरि नै कच्ची सडक मुक्त नहुन पनि सक्छ । तर, अभियानले भने निरन्तरता पाउनेछ’, महतले भने ।  नगरबासीलाई पक्की सडक यात्रा गराउने उद्देश्य रहेको उनको भनाइ छ ।


‘यो उपमहानगर मात्रै होइन, प्रदेशकै राजधानी पनि हो । यहाँ थुप्रै भौतिक संरचना पनि बन्ने क्रममा छन् । राजधानीलाई सुहाउँदो बनाउन पनि कच्ची सडकलाई पक्की बनाउँदै लगेका हौं’, उनले भने ।


यसैगरी उपमहानगर भएपछि गाभिएका वडाहरूमा नयाँ सडक ट्रयाक खोल्ने काम  जारी राखिएको नगरप्रमुख महतले बताए । गत आर्थिक वर्ष ०७६/७७ भित्र १५ किलोमिटर ७ सय ४५ मिटर सडकको नयाँ ट्रयाक खोलिएको उनको दाबी छ ।


चालू आवमा पनि पक्की सडक निर्माणसँगै नयाँ ट्रयाक खोल्ने कामलाई अगाडि बढाइने महतले बताए । कतिपय वडामा हालसम्म पनि सडक पुगिसकेको छैन । सडक पूर्वाधार नपुगेको क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरिएको महत बताउँछन् । ४४ लाख ९४ हजार रुपैयाँ लागतमा नयाँ सडक निर्माण गरिएको हो ।


यसमा स्थानीय उपभोक्ताको पनि सहभागिता छ । हेटौंडाको १, ३, १९, १५, १६, १८ लगायतका वडामा ट्रयाक निर्माण गरिएको हो । कच्ची सडक भएकाले खाल्डाखुल्डी भएका, पानी जमेर हिलो हुने समस्या र दुर्घटनाको जोखिम बढेपछि नयाँ ट्रयाक खोलेका सडकमा ग्राभेल गरिएको प्रमुख महतले बताए ।


गत वर्ष २३ हजार ३ सय ६६ स्थानका सडकमा ग्राभेल गरिएको छ । । ग्राभेल गर्न ८० लाख ७८ हजार रुपैयाँ खर्च भएको नगरप्रमुख महतको भनाइ छ ।