close

ठेकेदारकाे लापरबाहीले कर्णालीका १५ पुल ७ वर्षदेखि अलपत्र

७ ठेकेदार फेरिदा स्थानीयकाे २९ लाख झ्वाम

ठेकेदारकाे लापरबाहीले कर्णालीका १५ पुल ७ वर्षदेखि अलपत्र

७ ठेकेदार फेरिदा स्थानीयकाे २९ लाख झ्वाम

Trulli
ADVERTISEMENT

दैलेख - कर्णाली राजमार्ग एकताका निकै चर्चामा आयो । राजमार्गमा अत्यधिक  दुर्घटना हुन थालेपछि यसलाई मृत्यु मार्ग भनियो पनि  । यो राजमार्गमा सहज यात्रा र दुर्घटना न्यूनीकरण गर्न पक्की पुल निर्माण सुरु भएको वर्षौं बित्यो । तर, ठेकेदारको लापरबाहीले लथालिंग पुल कहिले बन्ने हुन्, अझै अत्तोपत्तो छैन ।


पक्की पुल निर्माणका लागि सडक डिभिजन कार्यालय सुर्खेतमार्फत ७ वर्षअघिदेखि ठेक्का खुल्यो । विभिन्न निर्माण कम्पनीहरूले पुल निर्माणका लागि घटाघटमा काम लिए । १५ वटा पक्की पुलको काम सुरु भयो ।


सडक डिभिजनमार्फत एउटा र विश्व बैंकको ऋण सहयोगमा १४ वटा पक्की पुल निर्माण गर्न १८ महिने समय तोकिए पनि ७ वर्षसम्म पनि ठडिन सकेका छैनन् । 


दैलेखको आठबीस नगरपालिकाको जाक्सी खोलामा निर्माण सुरु गरिएको एउटा पुल काम थालेको ७ वर्ष भयो । ७ वर्षमा मुख्य ठेकेदारमार्फत विभिन्न ७ वटा नयाँ ठेकेदार परिवर्तन भए पनि निर्माण  हुन सकेन । अलपत्र यस्ता पुलमा सवारी साधन सञ्चालन होलान् र आफूहरूलाई यात्र सहज होला भन्ने आश स्थानीयले मारिसकेका छन् । 

 

निर्माणको जिम्मा लिएका सबै ठेकेदारहरू बीचमै काम छाडेर भागेपछि पुल बन्न नसकेको स्थानीय विष्णुबहादुर माझीको गुनासो छ । पुल निर्माण सम्पन्न नहुँदा हरेक वर्ष बर्खाको भलले पुलका विभिन्न भागहरू बगाउँदै आएको छ । काम गर्न ठेकेदार आउँछन् । स्थानीय मजुदरलाई काममा लगाउँछन् तर कुनै पनि ठेकेदारले मजदुरको पैसा दिएका छैनन् । होटलमा खाएको रकमसमेत उधारै  छ । 


‘पुल निर्माण भए सास्ती हट्ला भनेर जनताले साथ दिन्छन् । तर, विभिन्न चरणमा आएका ठेकेदारहरूले उल्टै स्थानीयको रकम ठगेर भागेका छन् । रकम असुलीका लागि जिल्ला प्रशासनमा निवेदन दर्ता गराउने तयारी गरेका छौं’, स्थानीय विश्व कार्की भन्छन् । ठेकेदारहरू स्थानीयको २९ लाख रकम लिएर भागेको उनले बताए ।  


कर्णाली प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पासम्म पुग्ने यातायातका साधन सञ्चालन सहज बनाउन कर्णाली राजमार्गमा दशकौंदेखि निर्माण थालिएका पक्की पुलहरू अहिलेसम्म पूरा हुन सकेका छैनन् । 


पुल निर्माण नहुँदा राजमार्गको यात्रामा हरेक वर्ष जोखिम बढ्दै गएको छ भने सडक दुर्घटनाले सयौं यात्रुको ज्यानसमेत लिएको छ । प्रदेश राजधानी सुर्खेत हुँदै कर्णालीका ५ जिल्लामा यातायातका साधनमार्फत  यात्रा गर्न मुख्य सडक खण्ड मानिएको दैलेखको रतिखोलाको पुल गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने हो । पुल निर्माणको काम सुरु गरिएको छ तर अहिलेसम्म लथालिंग अवस्थामै छ ।


हरेक वर्षको असार, साउनमा यातायातका साधन आउजाउमा कष्ट हुने गर्छ । खोला बढेपछि घन्टौंसम्म यात्रुहरूले वारि र पारि कुर्नुपर्ने अवस्था अहिले पनि कायमै छ । कर्णाली राजमार्गमा पक्की पुल निर्माणको जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण राजमार्ग भएर यात्रा गर्नेहरूले सधैं हैरानी खेप्नु परेको छ । 


दैलेख खण्डमा मात्रै ५ वटा पक्की पुल निर्माण सम्पन्न हुन बाँकी छ । दैलेखको आठबीस नगरपालिका हुँदै अछाम जोड्ने पक्की पुल निर्माण सुरु भए पनि बीचमै ठेकेदार भागेपछि अलपत्र अवस्थामा छ । गत वर्षको दसैंसम्मका लागि विश्व बैंकले अन्तिम चेतावनी दिएपछि काममा केही तीव्रता आए पनि सबै पुल बन्लान् भन्ने आशंका स्थानीयको छ ।


कामको जिम्मेवारी लिएका मुख्य निर्माण कम्पनीहरूले केही कमिसन आफूलाई राखेर अर्को ठेकेदारलाई पेटीमा काम बेच्ने र अर्कोले पनि पुनः अर्कोलाई पेटीमा ठेक्का बिक्री गर्दा कर्णालीका पुल समयमै निर्माण नभएका हुन् । 

 

कर्णाली राजमार्गमा दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पासम्मका यात्रुहरूको ओहोरदोहोर हुने गर्छ ।