close

आफ्नै लगानीमा सडक मर्मत गर्दै पुतली बजार

आफ्नै लगानीमा सडक मर्मत गर्दै पुतली बजार

Trulli
ADVERTISEMENT

स्याङ्जा - पुतली बजार नगरपालिकाको कार्यालयले आफ्नै लगानीमा बाडखोला-नयाँ बजार सडक मर्मत कार्यअन्तर्गत करिब ३०० मिटर पिच गरेको छ ।

 

पुतली बजार नगरपालिकाले करिब ६४ लाख रुपैयाँको लागतमा पिच गरेको हो । स्थानीय जमुना हमालले सडक मर्मत तथा पिचको कार्यले टोलमा विकास आएको अनुभूति भएको बताएकी छन् । उनले सडकको पिचले पानी आउँदा हिलो र घाम लाग्दा धुलो हुने समस्या दूर हुने बताइन् ।


२०७६ फागुनमा ठेक्का सम्झौता भई एन एण्ड ए कन्स्ट्रक्सन एण्ड सप्लायर्सले बाटोको पिचको जिम्मा लिएको थियो । कन्स्ट्रक्सनले कोरोना संक्रमणका कारण समयमा पिच गर्न नसक्दा समय थपेर २०७७ असोजमा पिचको काम पूरा गरेको थियो । 


थपिएको समयमा एन एण्ड ए कन्स्ट्रक्सन एण्ड सप्लायर्सले सडक पिचको काम सम्पन्न गरेको पुतली बजार नगरपालिकाका सब-इन्जिनियर अरुण पौडेलले जानकारी दिए ।


सब-इन्जिनियर पौडेलले सडक पिच तथा मर्मत कार्य सम्पन्नपछि स्थानीयलगायत तनहुँ, कास्की र स्याङ्जावासीले सडक उपभोग गर्न सक्ने बताए ।


सडक बोर्डको ७० प्रतिशत र पुतली बजार नगरपालिकाको ३० प्रतिशत लगानी रहेको बाडखोला-नयाँ बजार सडक मर्मत कार्यमा पाइप कल्भर्ट, नाला, मेसिनरी वाल र कालोपत्रेलगायत मर्मत तथा सम्भार भएको थियो । पुतलीबजार नगरपालिकाको वडा नम्बर- ३, गैरीखेतमा करिब ६४ लाख रुपैयाँमा पिच भएको हो ।


जनप्रतिनिधिहरू आएपछि पहिलाको पुतली बजार र अहिलेको पुतली बजारमा धेरै परिवर्तन आएको पुतली बजार नगरपालिकाकी नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताइन् । नगरप्रमुख क्षेत्रीले विकास निर्माणअन्तर्गत विभिन्न सडकहरू, शिक्षा तथा स्वास्थ्य, खेलकुददेखि पर्यटनसम्मका काम भएका बताइन् ।