close

बाग्मतीमा साढे ४ हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरिँदै

बाग्मतीमा साढे ४ हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरिँदै

Trulli
ADVERTISEMENT

सर्लाही - सर्लाहीको बाग्मतीमा खानेपानी ओभरहेड ट्यांकी निर्माणको शिलान्यास भएको छ । नगरपालिकाको वडा-१० शंकरपुरस्थित पुरानो सोल्टीमा शंकरपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ओभरहेड ट्यांकी शिलान्यास बागमती नगरपालिका प्रमुख भरतकुमार थापाले गरेका थिए ।


संघीय सरकारको १ करोड ४१ लाख लागतमा निर्माण सम्पन्न हुने ओभरहेड ट्यांकीको क्षमता ४ लाख ५० हजार लिटर रहने खानेपानी संस्थाका सचिव वीरबहादुर खड्काले बताए । उनका अनुसार उक्त ट्यांकी १ वर्षभित्र निर्माण हुनेछ ।


२ वर्षको निर्माण अवधि रहेको योजना १ वर्षभित्र सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिने निर्माण कम्पनी बिडारी निर्माण सेवाले प्रतिबद्धता जनाएको संस्थाका अध्यक्ष खड्गनारायण श्रेष्ठले बताए । 


खानेपानी ओभरहेड ट्यांकी शिलान्यास कार्यक्रममा बाग्मती नगरपालिकाका उपप्रमुख लीलाकुमारी मोक्तान, नगरपालिकाको वडा- ८, ९ र १० वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधि उपस्थित थिए ।
कार्यक्रममा नगरप्रमुख थापाले नगरका नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने योजनाअनुसार ट्यांक निर्माण सुरु गरिएको जानकारी दिए ।


०७२ मा गठन भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले यस क्षेत्रमा शुद्ध खानेपानी वितरणको पहल गर्दै आएको छ । उपयुक्त खानेपानीको व्यवस्था नरहेको बाग्मती नगरपालिका वडा- ७, ८, ९, १० एवं छिमेकी नगरपालिकाको सीमा क्षेत्र मूर्तिया र बरहथवासमेत गरी झन्डै २ हजार २ सय घरधुरी आयोजनाबाट लाभान्वित हुनेछन् । 


शुद्ध खानेपानीको दीर्घकालीन सुविधा नभएका यस क्षेत्रका नागरिक इनार र चापाकलको अशुद्ध पानीमा निर्भर हुनुपर्ने बाध्यता छ । इनार र चापाकलसमेत हिउँदमा सुक्ने समस्याले स्थानीय हैरान हुने गरेका छन् ।