ओखलढुंगा - गाउँपालिकाको केन्द्र तथा वडाहरूलाई मुख्य राजमार्गसँग जोड्न चम्पादेवी गाउँपालिकाले दुईवटा द्रुत मार्गको काम थालेको छ । गाउँपालिकाभित्रका वडा तथा गाउँपालिकाको केन्द्र हुँदै मध्यपहाडी र लिखु-एकवार सडक सञ्जालमा जोड्ने गरी सडक सर्भेको काम थालेको हो ।
दुवै सडकले गाउँपालिकावासीलाई मध्यपहाडी राजमार्ग हुँदै काठमाडौं आवतजावत सहज हुने गाउँपालिकाका प्रवक्ता तथा वडा ८ का वडा अध्यक्ष अजय लुइँटेलले जानकारी दिए । अहिले सडक सर्भेको काम धमाधम भइरहेको छ । प्रदेश सरकारसँगको स्रोत साझेदारीमा ती सडक निर्माण गर्ने गाउँपालिकाले जनाएको छ ।
सडक निर्माण भएछि चम्पादेवीवासीलाई काठमाडौं तथा मुख्य राजमार्ग हुँदै प्रदेश राजधानी आवतजावतमा समेत दूरी छोटिनेछ । पहिलो सडक खण्ड घोराखोरी-जल्किनी-डडुवा-चिप्लिङ-सिल्खुवेँसी सडक निर्माण भएपछि काठमाडौंबाट गाउँपालिका केन्द्र आवतजावत गर्न दूरी छोटिन्छ । यस सडकबाट नवलपुर हुँदै मध्यपहाडी राजमार्ग पुग्न सकिन्छ ।
सडक निर्माण भएपछि गाउँपालिकाका विशेषगरी वडा नं- ६, ७, ८, ९ र १० का बासिन्दा लाभान्वित हुनेछन् । उक्त सडकबाट खिजिदेम्बा, मोलुङ र सोलुखुम्बूका नागरिकसमेत लाभान्वित हुनेछन् ।
यस्तै, गाउँपालिका केन्द्र सुन्दरपुरसँग जोड्नका लागि सुन्दरपुर-चिप्लिङ-जल्किनी-घोराखोरी सडकको पनि सर्भे भएको छ । उक्त सडक निर्माण भएपछि करिब १० किलोमिटर यात्रामै घोराखोरी र आसपासका नागरिकले गाउँपालिकाको केन्द्र पुग्न सक्नेछन् । यो सडक निर्माण भएपछि ४-५ घण्टा लगाएर गाउँपालिकाको सेवा लिन जानुपर्ने बाध्यता हट्ने भएको छ ।
दुवै सडक चम्पादेवी गाउँपालिका र प्रदेश सरकारको समपूरक बजेटबाट निर्माणको तयारी भएको हो । प्रदेश सरकारले दुवै सडक निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ, जसमा गाउँपालिकाको ४० लाख रुपैयाँ हुनेछ ।
सडक निर्माणका लागि करिब दुई करोड रुपैयाँ थप बजेटसमेत आवश्यक रहेको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए ।