close

बाजुराका स्थानीय तहको गुनासोः विकास निर्माणका काममा संघ र प्रदेशको जहिल्यै भाँजो

बाजुराका स्थानीय तहको गुनासोः विकास निर्माणका काममा संघ र प्रदेशको जहिल्यै भाँजो

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराका स्थानीय तहका जनप्रतिनिधिले विकासमा संघ र प्रदेश सरकारले प्रभावकारी समन्वय नगरेको गुनासो गरेका छन् । योजना गाउँबस्तीमै कार्यान्वयन गर्नुपर्ने भए पनि जानकारीविनै आउने र कार्यान्वयन जस्केलाबाटै गराउने प्रवृत्ति अन्त्यको माग उनीहरूले गरे ।


संघीय र प्रदेश सांसदको उपस्थितिमा मार्तडीमा आयोजित विकास निर्माणको अवस्थाबारे समीक्षा छलफलमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले विकासका लागि आउने योजना स्थानीय तहलाई समन्वय गरेर मात्र कार्यान्वयन गर्न माग गरे ।


त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले मागअनुसार कर्मचारी दरबन्दी नदिँदा काममा बाधा पुगेको बताए । ‘संघीय र प्रदेश सरकारले स्थानीय तहको माग र चाहनालाई सम्बोधन गर्न चुकेका छन् । खल्तीका योजना ल्याउने गरेकै कारण लगानीको सही सदुुपयोग नभएको हो’, रावलले भने ।


उनले प्रदेश सरकारबाट आउने योजना ठेकेदारी र व्यक्तिगत रूपमा आउने गरेको अनुभव सुनाए । बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले तीनवटै तहबीचको सम्बन्ध प्रगाढ र विश्वासिलो हुनुपर्ने आवश्यकता औँल्याए ।


बूढीनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरीले निर्माण व्यवसायीलाई मात्र दोष दिएर विकासले गति लिन नसक्ने बताए । आफूसँग सम्बन्धित ठेक्काबारे प्रश्न उठेपछि नगरप्रमुख गिरीले ठेकेदारको  भूमिका देखाएर सबै पक्षको लापरवाही हुने भएकै कारण ठेक्कामा घाटा व्यहोर्नुपरेको सुनाए ।
 


जगन्नाथ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले योजनामा बजेट लगानीले मात्र विकास निर्माणले गति नलिने भएकाले लगानी भएको ठाउँको अनुगमन र निगरानी सम्बन्धित निकायबाटै हुनुपर्ने बताए ।


खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले योजना कार्यान्वयन पक्षलाई ध्यान दिन जरुरी रहेकाले जिल्लास्तरीय संयन्त्र बलियो हुनुपर्ने आवश्यकता औँल्याए ।


स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले लगानी अनुगमन गर्ने जिम्मा सम्बन्धित पालिकाको हुने भएकाले जिम्मेवार पनि जनप्रतिनिधिलाई नै बनाउनुपर्नेमा जोड दिए ।


बडिमालिका नगरको सभा हलमा आयोजित कार्यक्रममा विषयगत कार्यालय र प्रदेश तथा संघीय सरकारको प्रतिनिधि निकायका प्रमुखले कामको प्रगति विवरण पेस गरेका थिए ।