close

दार्चुला-धार्चुला जोड्ने झोलुङ्गे पुल एकतर्फी बन्द, हजारौँ मर्कामा

दार्चुला-धार्चुला जोड्ने झोलुङ्गे पुल एकतर्फी बन्द, हजारौँ मर्कामा

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुल खोल्ने पूर्ववत् सहमतिविपरीत भारतले शनिबारदेखि एकतर्फी रूपमा पुल आउजाउ बन्द गरिदिएको छ । दार्चुला र धार्चुला प्रशासनको सहमतिअनुसार हरेक साताको बुधबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पुल खोल्ने सहमति थियो ।


धार्चुला गएका नेपालीहरू उतै रहेका बेला भारतले एकतर्फी पुलै बन्द गरिदिएपछि अप्ठ्यारोमा परेका छन् । पुल बन्द गरिदिएपछि सामान खरिदका लागि धार्चुला गएका सयौँ नेपाली दिनभर भोकभोकै बस्न बाध्य भए । पुल खुला हुने जानकारीपछि ग्रामीण भेगबाट समेत सयौँ नेपाली बिहान १० बजे नै धार्चुला बजार छिरेका थिए ।


पारि धार्चुलामा सामान किनी नसक्दै भारतले एकतर्फी पुल बन्द गरिदिएपछि ग्रामीण क्षेत्रबाट आएका मात्र नभएर सदरमुकाम खलंगाका व्यापारीसमेत धार्चुलामै अड्किएका छन् ।


११ मंसिरदेखि पेन्सन बुझ्ने नेपालीका लागि बिहान १० देखि ११ बजे र दिउँसो ४ देखि ५ बजेसम्म पुल खुला हुँदै आएको थियो ।


जल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र लेख्दै पुलमा भीडभाड हुन नदिन तथा उपभोक्ता मर्कामा परेको भन्दै सातामा दुई दिन खोल्न प्रस्ताव गरेको थियो ।


प्रस्ताव गरेकै दिन बिहान १० देखि ३ बजेसम्म पुल खोलेको धार्चुला प्रशासनले शनिबार एकाएक माथिको आदेश नभएको भन्दै बन्द गरिदिएपछि नेपालीहरू समस्यामा परेको सुरक्षा अधिकारीले बताए ।


‘हामीले पनि अस्तिकै निर्णयअनुसार होला भनेर सामान खरिद गर्न पारि धार्चुला जाने नेपालीहरूलाई पुल खुला गरेर थियौँ’, एक  सुरक्षा अधिकारीले भने, ‘तर, एक घन्टा हुनेवित्तिकै धार्चुलाबाटै पुल बन्द भयो ।’


बिहान १० बजे धार्चुला छिरेका नेपालीहरू दिउँसो ४ बजेपछि मात्र दार्चुला आउन पाए । पुल खुल्दा सयौँको संख्यामा भीड लागेको थियो । सामान जाँचमै प्रहरी र सशस्त्रलाई भन्सारमा हम्मेहम्मे भएको थियो ।


पुल खुलेपछि नौगाड, दुहुँलगायतका क्षेत्रबाट समेत मानिसहरू धार्चुला जान आएका थिए । महाकाली नगरपालिका- १ छापरीका नरसिंह कार्की बिहान १० बजे धार्चुला पुगेका थिए । तर, पारि पुग्नेवित्तिकै पुल बन्द भएपछि दिनभरि धार्चुलामै अलपत्र परेको उनले बताए ।


‘कोरोनाका बेला पुल एकाएक बन्द गरिँदा दिनभर धार्चुलामा घाम तापेर बस्नुपर्‍यो’, नौगाड- २ का गौरसिंह धामीले भने, ‘गत वर्ष भारतमा काम गर्न गएको पैसा लिन धार्चुला गएँ । ठेकेदारले पैसा पनि दिएनन् । काम गरेको पैसा पनि पाइएन’, उनले भने ।


गत चैतमा लकडाउन भएपछि घर फर्किएका धामी अहिले पनि स्थानीय तहमा रोजगारी नपाएपछि भारत जाने तयारीमा रहेको सुनाउँछन् । ‘पहिले काम गरेको ज्याला पनि पाइएको छैन । अहिले पुनः काम गर्न जाने सोचाइमा छु’, उनले भने ।


नौगाडकै परशुराम बोहरा घिउ बेच्न धार्चुला पुगे । दिनभर धार्चुलामा रोकिनुपरेपछि सास्ती घिउ बेचेकै पैसाले खाना खानुपरेको बताउँछन् ।


पुल एकाएका बन्द गरिदिँदा नेपाली नागरिकमाथि खेलवाड गरिएको दुहुँ- १ का जनकसिंह बोहरा बताउँछन् । ‘भारतीय व्यापारीले पनि पुल खुला होस् भन्ने चाहन्छन् । तर, प्रशासनबीचको तालमेल नहुँदा सयौँ नेपाली दिनभर भोकभोकै चौरमा बस्नुपर्‍यो’, उनले भने ।