close

सुस्तामा बहुउद्देश्यीय सभा हल

सुस्तामा बहुउद्देश्यीय सभा हल

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- ३ रेवारेतामा प्रदेश सरकारको लगानीमा सुविधा सम्पन्न बहुउद्देश्यीय सभा हल निर्माण भएको छ ।


प्रदेश सरकारको लगानीमा करिब ५०० जना क्षमताको सभा हल निर्माण भएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । ‘हाम्रो पालिकामा भएको यो नै सबैभन्दा ठूलो सभा हल हो’, उनले भने, ‘जुन प्रदेश सरकारको विशेष अनुदानमा बनेको छ । यसबाट पालिकामा हुने सबै कार्यक्रम यही केन्द्रित हुनेछन् ।’


प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले प्रदेश सरकारबाट विशेष अनुदान प्राप्त भएपछि सभा हल निर्माण भएको बताए । यसको स्टिमेट लागत एक करोड २७ लाख रुपैयाँको रहेको थियो । यसको टेण्डर विकास निर्माण सेवाले ८४ लाख रुपैयाँमा प्राप्त गरेकामा करिब ७४ लाख रुपैयाँ भुक्तानी भएको पालिकाले जनाएको छ ।


गाउँमै सुविधा सम्पन्न सभा हल बनेपछि स्थानीयमा खुसीयाली छाएको छ । स्थानीय अमितकुमार खड्काले गाउँपालिकाकै केन्द्रमा सभा हल बन्नुलाई सकारात्मक रूपमा लिएको बताए । ‘गाउँमा सभा हल बनेपछि खुसी नहुने कुरै भएन’, उनले भने, ‘जुन गाउँपालिकाकै सेन्टरमा समेत पर्छ ।’


खड्काले सुविधा सम्पन्न सभा हल बनेपछि सभा हलमा हुने कार्यक्रमले स्थानीयवासीको रोजीरोटीमा समेत सहयोग पुग्ने बताए ।


सभा हल खुला चौरमा रहेको छ । हलमा सुविधा सम्पन्न ठूलो हल, एटेचसहितका शौचालय र ड्रेसिङ रुमसहितका संरचना रहेका छन् । हल निर्माणको ९८ प्रतिशत काम सकिएको निर्माण पक्षले जनाएको छ ।