रुकुम पश्चिम– स्थानीय सरकार बनेको तीन वर्ष बितिसक्दा पनि रुकुम पश्चिमका धेरै वडा कार्यालयहरू भाडाका घरमा चलिरहेका छन् । नागरिक सरोकारसँग प्रत्यक्ष जोडिएका वडा कार्यालयहरूको भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ ।
चौरजहारी नगरपालिका वडा–१२ का वडाध्यक्ष टीकाराम ओली कार्यालय नहुँदा सेवाग्रहीलाई दिनुपर्ने सेवा प्रवाहमा असजिलो भएको बताउँछन् ।
‘वडामा सेवाग्राहीको भीड लाग्छ । कहिले बैठक बसाल्नुपर्ने हुन्छ, सभाहल हुँदैन । वडा कार्यालय निर्माणका लागि संघीय सरकारले समयमै रकम नदिँदा भवन निर्माण गर्न नसकिएको हो’, ओलीले भने ।
चौरजहारी वडा– १२ ले कार्यालय सञ्चालनका लागि उपयोग गरिरहेको घरलाई प्रत्येक महिना दुई हजार पाँच रुपैयाँ भाडा तिर्ने गरेको छ । आफ्नै वडा कार्यालय नहुँदा जीर्ण घर र साँघुरो ठाउँबाट वडाहरूले सेवा दिनु परेको बाँफीकोट गाउँपालिका वडा–१ का वडाध्यक्ष हर्कु मल्लले जानकारी दिए ।
भवन निर्माणका लागि सबै वडा कार्यालयहरूले डिपीआर भने गरिसकेका छन् । ‘डिपीआर बनेको लामो समयसम्म पनि बजेट नआउँदा अन्योलमा परेका छौं । वार्षिक लाखौं रुपैयाँ वडा कार्यालय सञ्चालनका लागि भाडा तिर्दैमा सकिने गरेको छ’, मल्लले भने ।
वडा कार्यालयका आफ्नै भवन निर्माण नहँुदा स्थानीय तहले नै भाडाबापतको रकम भुक्तानी गर्दै आएका छन् । बजेटका अभावकै कारण वडा कार्यालयहरू निर्माण गर्न नसकिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए ।
‘बजेट भए पनि कुनै ठाउँमा भने जग्गा अभाव देखिएको छ’, उनले भने, ‘मुसीकोटले वडा कार्यालय सञ्चालनका लागि वार्षिक पाँच हजारदेखि सात हजार पाँच सय रुपैयाँसम्म वडा कार्यालयहरूलाई दिने गरेको छ ।’
७३ वडा रहेको जिल्लाका १६ वडा कार्यालयका मात्रै आफ्नै भवन रहेका छन् । ५७ वडाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएका छन् ।
१४ वडा रहेको आठबिसकोट नगरपालिकाका–२ वडाका आफ्नै भवन छन् । १४ वडा रहेको मुसीकोट नगरपालिकाका चार वटा वडाका आफ्नै भवन छन् ।
११ वडा रहेको सानीभेरी गाउँपालिकाको ३ वडाको आफ्नै भवन छ । १४ वडा रहेको चौरजहारी नगरपालिकामा एउटा वडाको मात्रै आफ्नै भवन छ ।
बाँफीकोट गाउँपालिकाका १० मध्य चार वटा वडाले मात्रै आफ्नै कार्यालयबाट काम गरिरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वडालाई मुख्य पाँच अधिकार दिएको छ । तर, अधिकारसम्पन्न वडा कार्यालयको अवस्था भने बिजोग छ ।