close

घर भाडामै सक्यो काठमाडौं महानगरले साढे ७ करोड

घर भाडामै सक्यो काठमाडौं महानगरले साढे ७ करोड

Trulli
ADVERTISEMENT

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नगरप्रमुख विद्याशुन्दर शाक्य आएदेखि हालसम्म घर भाडामै ७ करोड ६५ लाख १ हजार ७ सय ५१ रुपैयाँ सकाएको छ ।


१ सय दिनमा १ सय १ काम गर्ने घोषणा गरेका नगरप्रमुखले तीन वर्षे कार्यकाल बितिसक्दासमेत आफ्नै भवन बनाउन सकेका छैनन् ।


ती सय दिनमा १ सय १ काम चुनाव जित्ने एजेन्डा मात्र बन्यो । चुनाव जिते तर काम भने हुन सकेको छैन । आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म मुख्य कार्यालयदेखि वडा कार्यालयको घर भाडा बराबर सो रकम खर्चिएको हो ।

 

महानगरले २०७४/०७५ मा १ करोड ७४ लाख १३ हजार ३ सय ४४ रुपैयाँ घर भाडा तिरेको थियो । २०७५/०७६ मा २ करोड १२ लाख ३६ हजार ६ सय ३० तिरेको थियो ।


त्यसैगरी २०७६/०७७ मा २ करोड ३९ लाख ८२ हजार ४ सय २० तिरेको थियो । २०७७/०७८ कात्तिकसम्म ८० लाख १९ हजार ४ सय घर भाडा तिरेको महानगरपालिकाले जनाएको छ ।   

 

वडा कार्यालय बन्दै, मुख्य कार्यालय छैन


काठमाडौँ महानगरका सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने योजना अगाडि बढाइएको थियो । सोहीअनुरूप नयाँ वडा भवन बनाउने कार्यक्रमअन्तर्गत वडा–९ र २६ वडाको नयाँ भवन सञ्चालनमा आइसकेका छन् ।


वडा–३, ४ र १४ को भवन निर्माण सम्पन्नको चरणमा छन् ।  वडा– ६ को भवन निर्माणका क्रममा डीपीसी चरणमा पुगेको छ । भवन निर्माणकर्ता छनोटका लागि वडा– २, १२, २१, २९ र ३२ प्रक्रियामा छन् भने वडा– २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ । वडा– २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

 

एउटा विभागको काम अर्काेलाई जानकारी नै हुँदैन

 

महानगरको भने आफ्नै कार्यालय ११ ठाउँमा छरिएर रहेको अवस्था छ । महानगरको भवन यत्रतत्र छरिएर रहँदा आन्तरिक रूपमै समस्या भएको छ ।


सेवाग्राही मात्र नभई कर्मचारीलाई समेत कठिन परेको महानगरका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार एउटा विभागले गरेको काम अर्काे विभागलाई जानकारी लिनै मुस्किल छ ।

 

बागदरबार भत्काउने संघर्षमा लागे नगरप्रमुख


काठमाडौँ महानगर प्रमुख विद्याशुन्दर शाक्यले बागदरबार भत्काएर नयाँ बनाउने संघर्ष गर्दागर्दै तीन वर्षसम्म अलपत्र अवस्थामा रहेको छ ।

महानगर कार्यालय रहेको भवनमा भूकम्पले क्षति पु¥याएको भन्दै सो भवन भत्काई सोही स्थानमा निर्माण गर्ने तयारी थालेको थियो । सर्वाेच्च अदालतले महानगर कार्यालय रहेको भवन अर्थात् ऐतिहासिक बागदबार नभत्काउन आदेश दियो ।


बागदरबार नभत्काउन परेको रिटको सुनुवाइ गर्दै अदालतले राणकालीन दरबार नभत्काउन निर्देशन दिएको थियो । बागदरबार भत्काउन अदालतले रोकेसँगै महानगर अन्य स्थानको खोजीमा लागेको छैन ।


त्यसपछि महानगरले आप्mनो भवन निर्माणका लागि कुनै कसरत गरेको छैन । काठमाडौँ महानगरको भाडामा रहेका कार्यालय ११ स्थानमा रहेका छन् । भूकम्पअघि बागदरबारबाट आफ्नो सबै सेवा प्रदान गर्दै आएको महानगरले भूकम्पपछि विभिन्न स्थानमा छरेको छ ।


यसरी छरिएका छन् कार्यालय

 

महानगरको कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ । भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएका कामपाका केही विभाग सुन्धारामा नै रहेको जेडीए कम्प्लेक्समा छन् ।

त्यस्तै, वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा सरेका छन् ।


नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाटै सेवा दिँदै आएका छन् भने महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडीए कम्प्लेक्समा कार्यालय छ ।


टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आए पनि अन्य विभाग भने भूकम्पपछि र केही त एक महिनाअघि मात्र सुन्धाराबाट अन्यत्र सरेका हुन् ।