close

पालिकासँग सदरमुकाम जोड्ने सडक माग्दै ब्याँसबासी

पालिकासँग सदरमुकाम जोड्ने सडक माग्दै ब्याँसबासी

Trulli
ADVERTISEMENT

दार्चुला - दार्चुलाको ब्याँस गाउँपालिकालाई सदरमुकाम खलंगा छुने छोटो मार्ग तिमुरबाटा हुँदै बनानी जोड्ने सडक निर्माण गर्न ब्याँस गाउँपालिकाले माग गरेको छ । ब्याँस गाउँकार्यपालिका बैठकले यो सडक निर्माणले दार्चुला-टिंकर सडकभन्दा धेरै छोटो बाटोको रूपमा व्यास गाउँपालिका पुगिने जनाएको छ ।

 

ब्याँसका जनप्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्वुसिंह बोहरामार्फत मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छोटो मार्गको सडक बनाउन माग गरेका हुन् । ब्याँस गाउँपालिका उपाध्यक्ष हेमा भट्टको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले छोटो दूरीको यो सडक निर्माणका लागि दबाब बढाउने निर्णय गरेको छ ।

 

‘तिमुरपाटा-तोसाराडी-बानानी बसेडी-धौलाकोट-डोकट-मडगाउँदेखि वडा- २ माल जोड्ने सडकको रूपमा यो छोटो मार्ग बन्छ’, उपाध्यक्ष भट्टले भनिन् ।


अहिलेको दार्चुला-टिंकर सडक दुहुँ गाउँपालिकाको हिकिला हुँदै जाने हुँदा लामो भएकाले छोटो मार्गको रूपमा सडक बनाउन आग्रह गरिएको उनले बताइन् । सामरिक महत्त्वको व्यास गाउँपालिका क्षेत्रका जनता अहिलेसम्म सडकको पहुँचमा छैनन् ।


व्यांँस क्षेत्रका जनतालाई यातायातसँग जोड्न प्रदेश सरकारले प्राथमिकतामा राखी विस्तृत आयोजना प्रतिवेदन बनाएर काम अघि बढाउनुपर्ने पालिकाको माग छ ।


अहिले प्रस्तावित सडकले व्यास गाउँपालिकाका सबै वडाका बस्ती जोड्छ । यहाँका स्थानीयले सडक पहुँचभन्दा टाढा हुँदा महाकाली नदीमा लगाइएका तुइनमार्फत सदरमुकाम खलंगा आउजाउ गर्नुपर्ने बाध्यता छ ।

 

भारतीय मार्ग हुँदै खलंगा आउनुपर्ने बाध्यता अन्त्य गर्न छोटो मार्गको सडक बनाउन व्यासका जनप्रतिनिधिको माग छ ।

 

कालापानी, लिपुलेक र लिम्पियाधुरा जोड्ने सबैभन्दा छोटो दूरीको यो सडक राष्ट्रियता र सीमा सुरक्षाका दृष्टिले समेत महत्त्व राख्ने भएकाले निर्माणमा प्रदेश सरकारले ढिलाइ गर्न नहुने उपाध्यक्ष भट्ट सुनाउँछिन् ।

 

विगतमा यो सडक निर्माण प्रक्रिया अघि बढे पनि प्रदेश सरकारले गौरवको योजनामा नसमेट्दा ढिलाइ भएको हो । सडक निर्माण गरिँदा दुहुँ क्षेत्रका जग्गाधनीले मुआब्जा माग्दै विवाद गरेका थिए ।


प्रस्तावित क्षेत्रबाट सडक निर्माण गर्न नदिएका दुहुँबासीले व्यास जोड्न श्रीवगडदेखि महाकाली किनारै किनार भएर सडक निर्माण गर्नुपर्ने माग राखेका छन् । दार्चुला-टिंकर सडकको स्तरोन्नति नगरिँदा र तिमुरपाटा-बनानी हुँदै माल जोड्ने सडक निर्माण नहुँदा ब्याँसबासीले हरेक वर्ष खाद्यान्न अभाव भोग्दै आएका छन् ।