close

चारैतिरका नाका खोल्दै खिजिदेम्बा

चारैतिरका नाका खोल्दै खिजिदेम्बा

Trulli
ADVERTISEMENT

ओखलढुंगा - गत वर्षसम्म पनि खिजिदेम्बा गाउँपालिका अतिदुर्गमका रूपमा परिचित थियो । यहाँबाट सदरमुकाम आउन छिमेकी जिल्ला कि त सोलुखुम्बू वा कि रामेछाप, सिन्धुली र उदयपुर घुमेर आउनुपर्थ्याे। 


हिउँदको समयमा ओखलढुंगाको जन्तरधाप, सोलुको टाप्टिङ हुँदै कच्ची सडक चले पनि वर्षा सुरु हुनासाथ बन्द हुने गरेको थियो । गाउँपालिका केन्द्रबाट काठमाडौं जान जति सहज थियो, त्यसभन्दा अप्ठ्यारो र लामो सडक पार गर्दै छिमेकी जिल्ला घुमेपछि मात्र सदरमुकाम ओखलढुंगा पुग्न सकिन्थ्यो । 


यही दुःख खेपेका जनप्रतिनिधि स्थानीय तहदेखि संघीय संसदसम्म पुगेपछि खिजिदेम्बा सुगम बन्दै गएको छ । अब खिजिदेम्बाबाट चारैतिर नाका खुल्न थालेका छन् । संघीय, प्रदेश सरकारको बजेट तथा स्थानीय तहको प्रथामिकतामा परेपछि सडक विस्तारले तीब्रता पाएको छ । 


सोलु र रामेछाप हुँदै सदरमुकाम आउनुपर्ने स्थानीयको बाध्यता अब टरेको छ । खिजिदेम्बाबाट मोलुङको श्रीचौर हुँदै ओखलढुंगा आउने ट्र्याक खुलिसकेको छ । यस सडकका लागि सांसद यज्ञराज सुनुवारले पूर्वाधार साझेदारी कार्यक्रममा तीन वर्ष लगातार गरेर एक करोड रुपैयाँभन्दा बढी बजेट विनियोज गरेर प्रथामिकता दिएका थिए । 


त्यस योजनामा खिजिदेम्बा र मोलुङ गाउँपालिकाले साथ दिएपछि खिजिफलाटे-हातेबन्से-श्रीचौर-ओखलढुंगा सडक गत कात्तिकमा खुलेको छ । अहिले गाउँपालिकाले आन्तरिक सडक कालोपत्रेको योजना अघि सारेको छ । संघीय समपूरक बजेटअन्तर्गत लिखु-भुसिंगा सडक कालोपत्रेको तयारी थालिएको छ ।


५५ किलोमिटर लामो लिखु-भुसिंगा सडकलाई चरणबद्ध रूपमा खण्ड-खण्ड गर्दै बहुवर्षीय योजनाका रूपमा काम गर्ने योजनाका साथ कालोपत्रेको ठेक्का लगाइएको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले जानकारी दिए । 


खिजिदेम्बा गाउँपालिकाले आफ्नो सीमित बजेटका बाबजुद पनि संघीय समपूरक बजेटबाट योजना छनोट गरी कालोपत्रे गर्न लागेको गाउँपालिकाले जनाएको छ । हाल उक्त सडकलाई बजेटको व्यवस्था गरिदिन अझै पनि विभिन्न कोणबाट संघीय सरकारसँग पहल गरिरहेको अध्यक्ष रोकाले बताए । 


खिजिदेम्बा गाउँपालिकाले यसअघि लिखु-भुसिंगा सडकको स्तरोन्नति गरेपछि सार्वजनिक यातायात संचालनमा आएका थिए । हाल सो सडकमा अरनिको र संयुक्त यातायातका बसहरू दैनिक संचालनमा रहेका छन् । 


हाल काठमाडौंबाट खिजिफलाटे, रगनी र खिजिकाती गरी तीन ठाउँमा सुपर बस संचालनमा छन् । थप सेवा विस्तारका लागि काठमाडौंदेखि रावादोलु-भुसिंगासम्म सार्वजनिक बस संचालनको तयारी भइरहेको छ । 


यसका लागि खिजिचण्डेश्वरी-खिजिकाती सडक र खिजिफलाटे-रावादोलु-भुसिंगा सडक खण्डमा सुधारको काम पनि सुरु भएको छ । 


सदरमुकाम जोड्ने विकल्प सडक


ठूलो भूगोल र पातलो वस्ती भएको गाउँपालिका रहेकाले सदरमुकामको सहज पहुँचको कुरालाई मध्यनजर गर्दै खिजिदेम्बा गाउँपालिकाले सदरमुकाम जोड्ने विकल्प सडकमा जोड दिइरहेको छ । पहिले सदरमुकामसँग सडक नजोडिँदा खिजिदेम्बाबाट रामेछापको ढाँडे, शिरीषे, मन्थली, सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी हुँदै ओखलढुंगा सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । 


अहिले खिजिदेम्बाका चार ठाउँबाट सदरमुकाम सडक जोडिसकेको छ । यसमा भुसिंगा-पात्ले-धाप-ओखलढुंगा, खिजिफलाटे-पात्ले-धाप-ओखलढुंगा, खिजिफलाटे-नयाँवन-श्रीचौर-रामपुर-ओखलढुंगा र खिजिफलाट-हातेबन्से-श्रीचौर-ओखलढुंगा सडक रहेका छन् ।


यी सडकको ट्र्याक खुलेर स्तरोन्नतिपछि गाउँपालिकाका सबै क्षेत्रमा सडक विस्तार हुनेछन् भने चारैतिरका नाका खुल्नेछन् । सडकको पहुँच पुगेपछि यस क्षेत्रका उत्पादन तराईदेखि काठमाडौंसम्म पुर्‍याउन र पर्यटकीय क्षेत्रमा पयर्टकसमेत सहज रूपमा आउने खिजिदेबावासीको आशा छ ।