स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पहिलो पटक स्थानीय सरकारको लगानीमा सडक कालोपत्रे हुने भएको छ । संघीय सरकारको समपूरक कोषअन्तर्गत तीन करोड सात लाख रुपैयाँको लागत र कालीगण्डकी गाउँपालिकाको तीन करोड नौ लाख रुपैयाँको साझेदारीमा कालोपत्रे हुने भएको हो ।
छापदेखि दब्छेसम्म तीन किलोमिटर कालोपत्रे सडकको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आफ्नो लगानीमा गाउँपालिकाले दोस्रो ठूलो परियोजनाको रूपमा यो सडक निर्माण गरेको भन्दै सडकले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सहयोग पुर्याउने बताए ।
सडक नै विकासको पूर्वाधार भएको बताउँदै यो सडकले प्रदेश ५ जोड्ने भएकाले यो सडकलाई नमुना सडक बनाउने लक्ष्य रहेको अध्यक्ष थापाको भनाइ छ । थापाले आफ्नो कार्यकालमा सबै वडाहरूमा पिच सडक पुर्याउने अभियानमा रहेको बताए ।
सडकका अतिरिक्त कृषि, पर्यटन र पूर्वाधार विकासमा पनि गाउँपालिका अघि रहेको बताउँदै थापाले भने, ‘प्रत्येक सडक जनताको समृद्धिसँग जोडिएको छ । सडक सम्पन्न भएसँगै होमस्टे र कृषि उपजले पनि बजार पाउनेछ ।’
‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत दुई घरमा खानेपानीको पहुँच पुगेको बताउँदै रानीमहलको वारि स्विमिङ पुलसहितको पार्कमा पर्यटकलाई आकर्षित गर्ने अभियान रहेको उनले जानकारी दिए ।
प्रिमिक्स कार्पेटिङ प्रविधिमा आधारित उक्त सडक सम्झौता भएको १५ महिनामा सम्पन्न गर्नुपर्ने इन्जिनियर सागर आचार्यले बताए । मिर्मी-धारापनी पिच सम्पन्न भएको छ भने धारापानी-ओइगा-रानीघाट पिच सम्पन्न हुने अवस्थामा छ ।
त्यसै गरी ओइगादेखि रिडीसम्मको सडक कालोपत्रे अन्तिम अवस्थामा छ । गहलाम-बनकसी-खहरे टेण्डरको प्रक्रियामा रहेको र गहलाम-घरीपोखरा-देउराली खण्ड पनि कालोपत्रेको तयारीमा रहेको आचार्यले बताए ।
पाँच महिनाभित्र सम्पन्न गर्ने गरी गाउँपालिका र सीएम-बी एण्ड बी जेभी काठमाडौंबीच २५ असार २०७७ मा सम्झौता भएको सडकको १५ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले हिउँदमा धुलो र वर्षामा हिलोबाट यहाँका जनताले सुख पाउने बताइन् ।
यो सडक निर्माणसँगै वर्षाको समयमा दुई महिना सडक बन्द हुने समस्याको अन्त्य हुनेछ । यसअघि सिद्धार्थ राजमार्गको जिरोदेखि मिर्मीसम्म १७ किलोमिटर सकड कालीगण्डकी जलविद्युत्त आयोजनाले पिच गरेको थियो ।