close

पहाडले छुट्याएको काली र बगनास झोलुंगे पुलले जोडिँदै

पहाडले छुट्याएको काली र बगनास झोलुंगे पुलले जोडिँदै

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ बैघा बारीचौर र पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ६ को मन्द्राङ जोड्ने झोलुंगे पुल शिलान्यास भएको छ ।

 

पुलको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा मगरले शिलान्यास गरे । गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने पुल ३४२ मिटर लम्बाइ र ९२ मिटर उचाइ रहने गरी निर्माण हुन लागेको हो ।


यो पुललाई स्याङ्जाकै अग्लो र लामो झोलुंगे पुलको रूपमा लिइएको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामबहादुर आले मगरले जानकारी दिए । 

 

‘संघीय, स्थानीय सरकार र कालीगण्डकीको संयुक्त लगानी २ करोड ६७ लाख रुपैयाँ लागतमा झोलुंगे पुल निर्माण सुरु भएको हो’, वडाध्यक्ष आले मगरले भने ।

 

झोलुंगे पुल २०७८ असार मसान्तसम्म निर्माण पूरा गर्ने सम्झौतासहित गीता निर्माण कम्पनीले जिम्मा लिएको छ । पुल निर्माणपछि कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ बारीचौरका बासिन्दालाई पाल्पाको बगनासकाली आउजाउ गर्न सहज हुनेछ । 

 

हाल बारीचौरका स्थानीयले पाल्पा आउजाउ गर्न करिब २० मिनेटको दूरीमा रहेको दैलाटुङको पुल प्रयोग गर्दै आएका छन् । 

 

यस्तै, पाल्पाको बगनासकाली वडा नम्बर ६ का स्थानीयलाई सोही पुलमार्फत छोटो समयमा स्याङ्जा प्रवेश गर्न र प्रसिद्ध आलमदेवी मन्दिरको दर्शन गर्न सहज हुनेछ ।