close

हरिनासमा अब धकेल्नुपर्दैन जीप

हरिनासमा अब धकेल्नुपर्दैन जीप

Trulli
ADVERTISEMENT

स्याङ्जा- हरिनास गाउँपालिका- ४ का लीलबहादुर थापा उमेरले ५८ नाघे । गत वर्ष तनहुँको भीमादमा राशन किनमेल गर्न गएका थापाले बाटोमा जीप धकेल्नुपरेको व्यथा सुनाए । उनी भन्छन्, ‘हरिनास सडक संजालमा नजोडिएका कारण हामी धेरै दुर्गमका थियौँ । गाउँका सडक कालोपत्रे हुन थालेपछि अहिले धेरै सुख भएको छ ।’


पालिकामा पहिलो पटक एक हजार ३०० मिटर सडक कालोपत्रे भएको छ भने विभिन्न सडक खण्डअन्तर्गत ४५ किलोमिटर सडकमा कालोपत्रे तयारी भइरहेको छ । पुनर्निर्माणको बजेटबाट तनहुँको भीमाददेखि राम्चेसम्म १८ किलोमिटर सडक कालोपत्रे हुँदै छ ।


चित्रेदेखि राम्चेसम्म एक हजार ३०० मिटर कालोपत्रे अन्तिम चरणमा पुगेको छ । यसैगरी साँखेदेखि गाउँपालिका केन्द्रसम्म १७ किलोमिटर र राते पहरादेखि गिरकोटसम्मको १० किलोमिटर प्रदेश सरकारको कार्यक्रमअन्तर्गत कालोपत्रे गर्ने तयारी भइरहेको छ । 


यसरी धमाधम सडक निर्माणले तीब्रता पाएसँगै हरिनासवासीले बर्खाको समयमा सवारी साधन धकेल्नुपर्ने समस्याको अन्त्य हुने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर बताउँछन् ।


सडक नराम्रो भएकै कारण बर्खायाममा सवारी साधन यात्रुले धकेल्नुपर्ने बाध्यता यहाँका स्थानीयले कच्ची सडक ट्र्याक विस्तार भएदेखि नै भोग्दै आएका हुन् । भूगोलको हिसाबले निकै दुर्गम मानिने स्याङ्जाको हरिनास गाउँपालिकामा सडक निर्माणले तीब्रता पाएसँगै सर्वसाधारणले सहज महसुस गर्न थालेका छन् । 


उनी भन्छन्, ‘विकासको पहिलो पूर्वाधार नै सडक रहेछ । त्यसैले स्थानीय सरकार र प्रदेश सरकारको साझेदारीमा पहिलो पटक पालिकामा कालोपत्रे सडक निर्माण गरेका छौँ ।’


जनताको पहिलो माग सडक नै भएकाले यसैलाई प्राथमिकतामा राखिएको वडा नं.- ४ का अध्यक्ष चिन्तामणि शर्माले बताए । प्रत्येक शनिबार ’जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर जनताको घर-आँगनमा पुग्ने गरेका मानन्धरले पहिले समस्या बुझ्ने अनि समाधान गर्ने नौलो अभ्याससमेत गरेका छन् । 


यस क्षेत्रको किनमेल गर्ने प्रमुख बजार भीमाद र पोखरा भएको कारण खाद्यान्न ओसारपसार सहज बनाउन र यहाँ उत्पादन भएका कृषि उपज निर्यात गर्नसमेत टेवा पुग्ने शर्मा बताउँछन् । शिक्षा र स्वास्थ्य सेवा लिन पनि कास्की र तनहुँ नै सहज हुने उनले बताए ।


प्रत्येक शनिबार ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर जनताको घरआँगनमा पुग्ने गरेका मानन्धरले पहिले समस्या बुझ्ने अनि समाधान गर्ने नौलो अभ्याससमेत गरेका छन् ।