close

सडक कालोपत्रे गरेको भोलिपल्टै उप्कियो

नगरपालिका र ठेकेदारको आ-आफ्नै रटान

सडक कालोपत्रे गरेको भोलिपल्टै उप्कियो

नगरपालिका र ठेकेदारको आ-आफ्नै रटान

Trulli
ADVERTISEMENT

सर्लाही- सर्लाहीको दक्षिण पश्चिम क्षेत्र बरहथवा नगरपालिकास्थित हजरियामा सडक कालोपत्रे गरेको भोलिपल्टै उप्किएको छ । ठेकेदारले सडकमा कमसल मसला प्रयोग गरेकै कारण कालोपत्रे उप्किएको स्थानीयको आरोप छ ।

 

नगरपालिकाको वडा नम्बर २ स्थित बरहथवा बजार हुँदै हजरियाको पञ्चायन मन्दिरदेखि इलाका प्रहरी कार्यालय हजरिया पुग्ने सडक बुधबार मात्र कालोपत्रे गरिएको थियो । सडक कालोपत्रे गरिँदा कमसल सामग्री प्रयोग भएकाले दुई दिन पनि नटिकेको स्थानीयले सुनाए । उनीहरूका अनुसार सडकमा कालोपत्रे गरेको गिट्टी सबै निस्किएको छ । 

 

गत आर्थिक वर्षमै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का पाएको एमएसके लाइट कन्स्ट्रक्सनले कोरोना संक्रमणलाई बहाना बनाएर काम अलपत्र पारेको थियो । नगरपालिकाले कोरोना संक्रमणको राहतस्वरूप कम्पनीलाई गत मंसिर मसान्तसम्म काम सम्पन्न गर्ने गरी ६ महिने म्याद थपेको थियो ।

 

सोही अवधिमा एक लेन मात्र सडक कालोपत्रे गरेको ठेकेदारलाई पटक-पटक ताकेता गर्दासमेत समय घर्काएर गुणस्तरहीन बालुवा, गिट्टी र सिमेन्टको मसला प्रयोग गरेकै कारण कालोपत्रे एक दिन पनि नटिकेको नगर उपप्रमुख सीतादेवी माझीले बताइन् ।

 

‘स्थानीयको गुनासोपछि प्राविधिकसहित अनुगमनमा गएका हौँ,’ उनले भनिन्, सडक निर्माणमा राखिएका वस्तु कमसल देखिए । रोक्नू भन्दाभन्दै जबर्जस्ती गरेको पाइयो । उप्किएको सडक पुनः कालोपत्रे नगरे बाँकी भुक्तानी दिन्नौँ ।’ छिमेकी नगरमा समयमै काम भइरहँदासमेत ठेकेदारले कोरोनाको बहानामा काम नगरेको उनको आरोप छ ।

 

सोही वडाका वडाध्यक्ष यज्ञबहादुर खड्का ठेकेदारलाई काम नगर्न भन्दा पनि जबर्जस्ती रातारात कालोपत्रे गरेको बताउँछन् । ठेकेदारले हतारहतार झारा टराइ हिसाबले काम पूरा गरेको देखाएर भुक्तानी लिन खोजेको उनको दाबी छ ।

 

वडाध्यक्ष खड्काले भने, ‘नभए रातारात किन काम गर्नुपर्‍यो ? स्थानीयले कालोपत्रे गुणस्तरहीन भएको भन्दै चौतर्फी विरोध गरिरहेको अवस्थामा समेत ठेकेदारले बालुवा ल्याएर माथिबाट छोपेको छ । कालोपत्रे नै नगरी सडकमाथि बालुवा खन्याउँदा यस्तो अवस्था आएको हो ।’ 

 

तर, स्थानीय भने जनप्रतिनिधि र कर्मचारीसमेतको संलग्नतामा गुणस्तरहीन कालोपत्रे भएको दाबी गर्छन् । वडाध्यक्षले रोके पनि ठेकेदारले काम पूरा गरेको देखाएर पैसा लिने योजनामा अन्य जनप्रतिनिधि र कर्मचारीसमेतको मिलेमतो रहेको हुने सक्ने आशंका उनीहरूको छ ।‘हामीले प्रहरी लगाएर पटक-पटक रोक्दासमेत ठेकेदारले जबर्जस्ती कालोपत्रे गरे’, वडाध्यक्ष खड्काले भने, ‘यसले गर्दा सडकमा बिछ्याइएको कालोपत्रे उप्किएको हो ।’ 


नगर कार्यपालिकाको बजेटबाट ठेक्का लागेको यो सडक खण्ड कालोपत्रेका लागि सर्लाहीकै एमएसके लाइट कन्स्ट्रक्सनले ६५ लाख रुपैयाँमा ठेक्का सकारेको थियो ।  यसमध्ये ठेकेदार कम्पनीले २८ लाख रुपैयाँ भुक्तानी लगिसकेको बरहथवा नगरपालिकाको योजना शाखा प्रमुख कमलप्रसाद पौडेलले जानकारी दिए ।नगरपालिकाका सूचना अधिकारीसमेत रहेका पौडेलले कालोपत्रे गुणस्तरहीन भएको देखिएको बताए । 


सडक कालोपत्रेको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रमुख सुरेश कार्की भने कालोपत्रे गुणस्तरहीन नभएको दाबी गर्छन् । ‘नगरपालिकाले जसरी पनि समयमै काम सम्पन्न गर्नैपर्छ भन्ने दबाब दिएका कारण समस्या भएको हो’, कार्कीले भने ।

 

तापक्रम कम भएका बेला कालोपत्रे गरिँदा अलकत्राले काम नगरेको उनको भनाइ । कालोपत्रे उप्किएको स्थानमा मर्मत गर्ने तयारी भइरहेको कार्कीले बताए । ‘सडक निर्माणकै चरणमा छ । नगरलाई हस्तान्तरण गरिसकेका छैनौँ । भत्के-बिग्रे हामी आफैँ बनाउँछौँ’, कार्कीले भने ।