close

जडाङमा अझै बनेन बेली ब्रिज

जडाङमा अझै बनेन बेली ब्रिज

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिकाले साँफे-मार्तडी सडक खण्डअन्तर्गत जडाङ नदीमा गाडी गुड्ने काठेपुल निर्माण गरेको छ ।


जडाङमा बेली ब्रिज निर्माण भइरहे पनि ढिला हुने देखिएपछि नगरपालिकाले जीप, ट्र्याक्टर, मिनी टाटा, बाइक गुड्ने गरी काठेपुल निर्माण गरेको बडिमालिकाका नगरप्रमुख पदम बडुवालले बताए । 


सदरमुकाम मार्तडीसम्म यातायात संचालनसँगै सामान ढुवानी सहज बनाउन काठेपुल निर्माण गरेर संचालनमा ल्याइएको बडिमालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताए ।


‘काठेपुल बनाउन बेली ब्रिज निर्माण गरिरहेको डोजर पनि प्रयोग गरेका हौँ । अन्य व्यवस्थापन नगरपालिकाले गरेको छ’, विकले भने । 


२५ साउनको बाढीले बेली ब्रिज बगाउँदा सदरमुकाम मार्तडीसम्मको सम्पर्कविच्छेद भएको थियो । खोलामा पुल नहुँदा मार्तडीसम्म जीप स‌ंचालनमा आउन सकेका थिएनन् । 


खोलामा गाडी गुड्ने काठेपुल निर्माण भएपछि सदरमुकामसम्म नियमित यातायात चल्न थालेको स्थानीय कालु नाथले बताए । बस भने साँफे-मार्तडी सडक खण्डको बल्धेसम्म मात्र संचालनमा छन् । 


खोलामा काठेपुल बनेपछि जिल्ला अस्पताल बाजुराबाट रिफर गरेका बिरामीलाई सिधै जिल्लाबाहिर लैजान सहज भएको छ । काठेपुल बनेपछि सिधै मार्तडीसम्म गाडीमा पुग्न सकिने बूढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए । ‘बीचबीचमा गाडी फेर्नुपर्ने झन्झट हुन्थ्यो । अब भने सहज भएको छ’, शाहले भने ।


बेली ब्रिज निर्माण सुरु भए पनि ढिलाइ हुने देखिएको छ । बेली ब्रिज निर्माण माघ मसान्तसम्म सम्पन्न गरिसक्ने सडक डिभिजनले बताएको छ ।


२५ साउनको बाढीले बाजुरामा बेली ब्रिजसँगै सडकलगायत वस्तीसमेत बगाएको थियो ।