close

मुगुमा टेलिकमको सेवा : टुजी छँदा केही बिसेक, फोरजी आएपछि सुन्नै छाडियो

मुगुमा टेलिकमको सेवा : टुजी छँदा केही बिसेक, फोरजी आएपछि सुन्नै छाडियो

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुबासी वर्षौंदेखि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित हुँदै आएका छन् । मुगु सदरमुकाम गमगडी बजारलगायत अधिकांश ग्रामीण क्षेत्रमा नेपाल टेलिकमका टावरले काम नगर्दा सेवाग्राहीलाई सास्ती भएको हो ।

 

हिउँदे महिना सुरु भएपछि कर्णालीका अधिकांश जिल्लामा हिउँ पर्ने हुँदा टेलिफोन भए पनि घरिघरि सम्पर्क विच्छेद हुने, फोन लागे पनि नेटवर्कले काम नगर्ने समस्याबाट स्थानीय आजित छन् ।

 

सदरमुकाम गमगढी बजारमा नेपाल टेलिकमको कार्यालय स्थापना भएको लामो समय बितिसक्यो । तर, सर्वसाधारणले सहज फोन सुविधा प्रयोग गर्न पाएका छैनन् । 

 

स्थानीयलाई फोन सुविधा उपलब्ध गराउन टेलिकमले सञ्चार क्षेत्रमा पहुँच विस्तारका लागि गुणस्तरीय उपकरण जडान सुरु भइसकेको भने भन्न छुटाउने गरेको छैन । 


सुरुमा टुजी सेवा सञ्चालन गरिरहेको टेलिकमले मुगुमा फोरजी भित्र्याएपछि नेटवर्कले नटिप्ने समस्या झनै बढेको स्थानीय बताउँछन् । 


‘जिल्ला बाहिर रोजगारी, व्यापार, व्यवसाय, अध्ययन-अध्यापन गर्न गएका आफन्तजनलाई सम्पर्क गर्न खोज्यो नेटवर्कले काम गर्दैन । टावर अपग्रेड गरेको भन्ने सुनिन्थ्यो । झनै काम गर्न छाडेको छ’, स्थानीय रामबहादुर बुढाले भने । 

 

उनका अनुसार देशमा भइरहेको राजनीतिक घटनाक्रम बुझ्न पनि इन्टरनेटले धोका दिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारलगायत आधारभूत सुविधा स्थानीयले नपाएपछि विकासमा फड्को मारिएको भन्ने नेताहरूको भनाइ भाषण मात्रै भएको उनको बुझाइ छ । 

 

टेलिकम मुगु शाखा कार्यालय प्रमुख विशाल देवकोटाका अनुसार केही दिनअघि नेटवर्कमा समस्या देखिएपछि फोन सम्पर्कमा खराबी आएको हो ।  ‘अहिलेको क्षमता ५ सय एमबीपीएस छ । ट्राफिक सिफ्ट हुँदा यो समस्या देखिएको हो । समस्या समाधानका लागि प्रक्रिया अगाडि बढेको छ,’ देवकोटाले भने । 

 

क्षमता बढाएर २ जीबी बनाउने योजनामा रहेको र त्यसपछि नेटवर्कमा देखिएका सबै समस्या हट्ने उनको दाबी छ । ‘अब ४ महिनापछि सदरमुकाम गमगढी बजारलगायत आसपासका स्थानमा राम्रोसँग काम गर्ने गरी सेवा विस्तार गर्ने योजना छ’, उनले भने ।