close

कछुवा गतिमा कावासोतीको नगर चक्रपथ 

कछुवा गतिमा कावासोतीको नगर चक्रपथ 

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व - नवलपरासी पूर्वको कावासोती नगरपालिकामा निर्माणाधीन नगर चक्रपथ निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाको सीमित बजेट र प्रदेश तथा संघीय सरकारबाट नगर चक्रपथ निर्माणमा बजेट नपर्दा निर्माणमा ढिलाइ भएको बताइएको छ ।


आर्थिक वर्ष २०७४/०७५ मा कावासोती नगरपालिका- ४ मा १ हजार ७०० मिटर सडक पिच गरेर सुरु गरिएको नगर चक्रपथ आर्थिक वर्ष २०७५÷०७६ मा कहाँबाट बजेट विनियोजन गर्ने भनेर अलमल हुँदा एक वर्ष पूरै रोकिएको थियो ।


आर्थिक वर्ष २०७५/०७६ मा नगर चक्रपथ निर्माणका लागि संघीय र प्रदेश सरकारबाट बजेट आउने आसमा नगरपालिकाले चक्रपथमा बजेट विनियोजन नगर्दा एक वर्ष त्यसै खेर गएको थियो । पछिल्ला २ आर्थिक वर्ष पनि कावासोती नगरपालिकाले अत्यन्तै कम बजेट विनियोजन गरेको छ ।


गत आर्थिक वर्षमा ५ वटा वडामा ८२० मिटर पक्की बाटो निर्माण गर्न प्रतिवडा १ करोडका दरले ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो भने यस वर्ष ८ वटा वडामा ५० लाखदेखि ६५ लाख रुपैयाँका दरले ४ करोड ९० लाख रुपैयाँ नगर चक्रपथ निर्माणका लागि विनियोजन गरिएको कावासोती नगरपालिकाका इन्जियिनर निरज दाहालले बताए ।


गत वर्षको निर्माण कोरोनाका कारण केही ढिलो भएकाले यस वर्षको पुस मसान्तसम्म निर्माणका लागि सम्झौता अवधि बढाइएको र यस वर्ष प्रत्येक वडामा ७०० मिटरको दरले बाटो पिच गर्ने गरी काम अगाडि बढिरहेको इन्जिनियर दाहालले बताए ।


कावासोती नगरपालिका वडा नं. १, ३, ४, ५, १०, ११, १२, १५, १७ जोड्ने गरी ५५ किलोमिटर लामो सडक करिब ६० करोड रुपैयाँको लागत स्टिमेटमा निर्माण सुरु गरिएको इन्जियनिर दाहालले जानकारी दिए । 


कावासोती नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आउनुअघिदेखि नै नगर चक्रपथ निर्माणको योजना नगरपालिकाले अगाडि सारेको थियो भने निर्वाचित जनप्रतिनिधिहरूले यस योजनालाई मूर्त रूप दिन बजेट विनियोजन सुरु गरेका थिए ।


कावासोती नगरपालिकाका महत्त्वाकांक्षी योजनामध्येको एउटा योजना नगर चक्रपथ निर्माण कार्य भने जसले सुरु गरेको हो, उनै जनप्रतिनिधिहरूले आफ्नो कार्यकाल पूरा हुँदासम्ममा सक्नेमा जनप्रतिनिधि नै ढुक्क छैनन् ।


कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले बहुवर्षीय योजनाअन्तर्गत भएका कारण निर्माण कार्य विस्तारै हुने बताए । कावासोती नगरपालिकाको नगर चक्रपथ निर्माण सम्पन्न भए कावासोती नगरपालिकाका हरेक वडा सडक संजालमा जोडिने थिए ।