close

गाउँका नेता आउन २० वर्ष लाग्यो, सडक आउन ३ वर्ष, तैपनि थामिएन खुसी

गाउँका नेता आउन २० वर्ष लाग्यो, सडक आउन ३ वर्ष, तैपनि थामिएन खुसी

Trulli
ADVERTISEMENT

ओखलढुंगा– मोलुङ गाउँपालिका वडा नं. ७ पात्लेमा सडक पुगेको छ । लामो समयको प्रयासपछि गाउँमा सडक पुग्दा स्थानीय खुसी छन् ।


सदरमुकाम ओखलढुंगाबाट ढुस्के–विगुटार–राँगादीप–जेसे हुँदै वडा कार्यालय रहेको तालकोट बजारसम्म सडक खुलेको हो । गाउँपालिकाको अतिदुर्गम यस वडामा सडक पुगेपछि स्थानीय खुसी भएका हुन् ।


सडक खुलेपछि अनुगमनमा पुगेका निवर्तमान सांसद, गाउँपालिका अध्यक्ष, वडा अध्यक्षलगायतलाई स्थानीयले फूलमाला लगाएर स्वागत गरे । ‘सडक ल्याउने प्रयास ३ वर्षदेखि थियो, अहिले हामी सफल भएका छौँ’, वडा अध्यक्ष हेमबहादुर सुनुवारले भने ।


स्थानीय तहको निर्वाचन अघि २० वर्षसम्म गाउँका जनताले  नेतृत्व नपाउँदा विकास निर्माण ठप्प थियो । जनप्तिनिधि आएको ३ वर्षपछि निकै माथापच्ची गरेर अहिले गाउँमा सडक पुगेको हो ।

लामो समय ठेकेदारले काम नगर्दा उक्त सडक निर्माण योजना अलपत्र थियो । जनप्रतिनिधिको निरन्तर दबाब र सहजीकरणमा सडकको ट्र्याक पुगेको स्थानीयले बताए । संघीय सरकारले जिल्लाको प्राथमिकताप्राप्त आयोजनाका रूपमा ४ वर्ष पहिले ठेक्का लगाए पनि पूरा भएको थिएन ।


सडक पुगेपछि स्थानीय पूर्वाधार निर्माणका काममा समेत सहयोग पुगेको छ । यो सडक खुलेसँगै जेसे माध्यमिक विद्यालयको भवन निर्माणसमेत सुरु भएको छ । सडक नहुँदा निर्माण सामग्री ढुवानीको समस्याका कारण भवन निर्माणको काम थालिएको थिएन । विद्यालय भवनको मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई र निर्वतमान संघीय सांसद यज्ञराज सुनुवारले शिलान्यास गरे ।


सडक नै विकासको मुख्य पूर्वाधार भएको निवर्तमान सांसद सुनुवारले बताए । अब वडाका अन्य भागमा सडक तथा विजुली पुर्‍याउन गाउँपालिकाले योजना निर्माण गर्नुपर्ने उनको सुझाव छ । सडक पुगेपछि त्यस क्षेत्रमा खाद्यन्न ढुवानीदेखि विकासका पूर्वाधारका काम थप अघि बढ्ने मोलुङ गाउँपालिका– ७ का पेम्बा शेर्पाले बताए ।


‘विकासको जग बसालियो’


त्यस क्षेत्रमा सडक पुगेपछि स्थानीय मात्र होइन, जनप्रतिनिधि पनि औधी खुसी छन् । सडक नहुँदा निर्माण हुन नसकेका विद्यालय र स्वास्थ्य चौकी भवन अब निर्माण हुने वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए । उनले भने, ‘सडक नहुँदा पूर्वाधार निर्माणका काम हुन सकेका थिएनन्, अब जग बसेको छ ।’


सडक पुगेपछि विद्यालय भवन शिलान्यास भइसकेको छ । अब चाँडै स्वास्थ्य चौकी भवनसमेत निर्माण सुरु हुने अध्यक्ष सुनुवारले बताए । पात्लेमा सडक पुगेपछि अब मोलुङका सबै वडाका केन्द्रमा सडक पुगेको छ ।


सदरमुकामबाट वडा कार्यालय जाने बाटो खुले पनि गाउँपालिका केन्द्रबाट वडा कार्यालयसम्म जोड्ने सडक भने छैन । अब त्यसतर्फ ध्यान दिने उनको भनाइ छ ।