close

समग्र नगरको विकासका लागि कभर्ड हल बनाउँदै रामेछाप (भिडियाे खबर)

समग्र नगरको विकासका लागि कभर्ड हल बनाउँदै रामेछाप (भिडियाे खबर)

ADVERTISEMENT

रामेछाप- खेलकुदका लागि न त उमेरले छेक्छ, न समयले नै पर्खिन्छ । विश्वका शक्तिशाली राष्ट्रले खेलकुदबाटै स्वस्थ जीवनशैली बिताउनुका साथै खेलकुदकै माध्यमबाट समृद्धिको यात्रा अगाडि बढाइसकेका छन् । 


खेलकुदमा निकै पछि परेको नेपाललाई खेलकुदकै माध्यमबाट स्वस्थ र समृद्ध बनाउने अभियानमा स्थानीय सरकार जुटेका छन् । ८ वटा स्थानीय तह भएको रामेछाप जिल्लामा रामेछाप नगरपालिकाले समग्र नगरको विकासका लागि कभर्ड हल निर्माण सुरु गरेको छ ।


रामेछाप नगरपालिका र संघीय सरकारको संयुक्त लगानीमा रामेछाप नगरपालिकाको वडा नं.- ७, सुकाजोरमा फुटबल मैदानसहितको सुविधा सम्पन्न कभर्ड हल निर्माण हुन लागेको हो । २५ असार २०७९ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने कभर्ड हलको शिलान्याससमेत गरिएको छ । 


रणनीतिक योजनाअनुसार विकासमा लागेको नगरपालिकाले खेलकुदलाई थप व्यवस्थित बनाउन नगरका ९ वटा वडामा साना, ठूला खेल मैदान निर्माणको चरण भएकाले भविष्यमा नगरपालिकालाई खेलकुदकै माध्यमबाट समृद्ध बनाउन सकिने दावी गरेको छ । 


संघीय सरकारको ५० प्रतिशत र रामेछाप नगरपालिकाको ५० प्रतिशत लागतमा काम गर्ने सम्झौताअनुसार अहिले कभर्ड हल निर्माण भइरहेको छ । पहिलो चरणमा फुटबल मैदानबाहेक कभर्ड हल निर्माणका लागि ४ करोड ५३ लाख ६५ हजार ४३३ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । ठेक्का सम्झौताअनुसार १०९ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कभर्ड हल निर्माण हुनेछ ।


स्थानीय सरकार आएसँगै विकासमा देखिएको उपलब्धिले हौसला मिलेको स्थानीयको भनाइ छ । कभर्ड हल निर्माण सम्पन्न भएपछि स्थानीयको जीविकोपार्जनमा सुधार हुने अपेक्षा स्थानीयले गरेका छन् ।


सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले निर्माणको जिम्मा लिएको कभर्ड हल सम्पन्न भएपछि कभर्ड हलभित्र भलिबल खेल्ने मैदान, जिम गर्ने ठाउँ, ब्याडमिन्टन खेल्ने ठाउँ, दर्शक बस्ने ठाउँ, कार्यक्रम गर्ने स्टेज, ड्रेस चेन्ज गर्ने कोठा, महिला, पुरुष शौचालय, टिकट घरलगायतका संरचना हुनेछन् ।