close

आँधीखोलाको सडक शिलान्यास

आँधीखोलाको सडक शिलान्यास

Trulli
ADVERTISEMENT

स्याङ्जा- आँधीखोला गाउँपालिका वडा नम्बर ४ स्थित सेपत-भर्स्यायाङ-देउराली-पँचासे सडक निर्माणको शिलान्यास गरिएको छ ।

 

सडकको स्तरोन्नति तथा कालोपत्रेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले शिलान्यास गरे । सडक निर्माण २ वर्षभित्र सम्पन्न गर्ने गरी गाउँपालिका र ठेकेदार कम्पनीबीच सहमति भएको अध्यक्ष पौडेलले जानकारी दिए ।

 

अध्यक्ष पौडेलले सडक निर्माणपछि सेपत-लप्सीबोट-भर्स्यायाङ-पातालखर्क-देउराली-रिमालस्वाँरा हुँदै श्रवणकुमार-पँचासे आउजाउ गर्ने स्थानीयलाई सुविधा पुग्ने र स्थानीय स्तरमा उत्पादित तरकारी, फलफूललगायत कृषि उपज सजिलै बजार पहुँचमा पुग्ने बताए । 

 

सडक निर्माणका लागि ६ करोड ५१ लाख ७५ हजार ३ सय ५७ रुपैयाँमा सिंह एन्ड ब्रदर्स संस्कृति, चम्पेश्वर जेभी कलंकी काठमाडाैंले जिम्मा लिएको छ ।

 

निर्माण कम्पनीसँग ५ पुस २०७७ मा सम्झौता भएको र आगामी ५ पुस २०७९ मा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताए । 


ठेकेदार कम्पनीका प्रबन्धक पदम भट्टराईका अनुसार पक्की नाली, ट्राफिक लाइट र रोड पेन्टिङसहितको सडकको ठेक्का सम्झौताअनुसार ४० एमएम मोटाइको कालोपत्रे गरिनेछ ।

 

१ हजार १ सय मिटर ढलान र ३ हजार ९ सय मिटर पिच गरी जम्मा ५ किलोमिटर सडकको स्तरोन्नति गर्न लागिएको हो । 


विकास निर्माणमा गाउँपालिका एक्लैको प्रयास पर्याप्त नहुने हुँदा जनताको सहभागिता जरुरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल सुनाउँछन् ।