close

पुरातात्त्विक महत्त्वको कमलपोखरीमा कंक्रिटको बिस्कुन

महानगर र विभागको बोली बाझियो 

पुरातात्त्विक महत्त्वको कमलपोखरीमा कंक्रिटको बिस्कुन

महानगर र विभागको बोली बाझियो 

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले पुरातात्त्विक महत्त्वको कमलपोखरीको पुनर्निर्माण गर्दा यसको ऐतिहासिक महत्त्वलाई संकटमा पारेको भन्दै विरोध भएको छ ।


स्थानीय, सम्पदा अभियन्ता र पर्यावरणप्रति सचेत नागरिक कमलपोखरी पुनर्निर्माणका क्रममा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्तवमाथि खेलवाड भएको भन्दै आन्दोलित भएका हुन् । 


सम्पदा अभियन्ताहरूले शुक्रबार ‘हाम्रो माटो, हाम्रो पानी, प्राणभन्दा प्यारो छ’ भन्दै कमलपोखरीको माटो अनुहारमा दले । डियर मेयर, सिमेन्ट र डन्डीको कमल हामीलाई चाहिँदैन, डियर मेयर, रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौँ नारा लेखिएको प्लेकार्ड बोकेर विरोध जनाए । 


महानगरको दाबी : स्थानीयकै सहमतिमा सिमेन्ट प्रयोग 


काठमाडौं महानगरले स्थानीयको छलफलमै कमलपोखरी पुनर्निर्माण गरिएको दाबी गरेको छ । पोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिट प्रयोग भएको भन्दै स्थानीयको गुनासो आएपछि महानगरले यस्तो प्रतिक्रिया दिएको हो ।


महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले छठ पूजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमतिअनुरूप निर्माण गरिएको र पोखरीको चारैतर्फ घाट निर्माण गर्दा केही ढुंगा र सिमेन्ट प्रयोग गर्नु परेको बताए ।

 

खाली जमिन तथा पैदल हिँड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको महानगरको तर्क छ । ‘कमलपोखरीको ऐतिहासिकता जोगाउन महानगर गम्भीर छ,’ बस्नेतले भने, ‘स्थानीयसँगको सहमतिमै डिजाइन पास भएको हो ।’


बोल्यो विभाग : उजुरी आए अनुसन्धान गर्छाैं 


कमलपोखरीमा क्रंक्रिट प्रयोग भएको विषयमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ । महानगरले कमलपोखरीको मौलिकतामाथि प्रहार गरेको विषय सञ्चार माध्यममा आएपछि जानकारी भएको विभागले बताएको छ ।

 

विभागका महानिर्देशक दामोदर गौतमले भने, ‘मिडियामा आएपछि मात्र थाहा भयो । कतैबाट पत्र भने प्राप्त भएको छैन,’ उनले थपे, ‘ऐतिहासिक सम्पदा मास्ने कसैलाई अधिकार छैन । पोखरीको पानी सुकाएर सम्पदा मास्न मिल्दैन ।’

 

विभागले तत्काल प्रविधिक टोली खटाएर त्यसको ऐतिहासिक पाटो अध्ययन गर्ने गौतमले जानकारी दिए । 


महानगरले पोखरी निर्माणमा करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । जय धनञ्जय र कँडेल जेभी, रानीबारी काठमाडौंले निर्माण ठेक्का पाएका छन् ।

 

सम्झौताअनुसार कमलपोखरी पुनर्निर्माण गत १५ असारमै सम्पन्न गरिसक्नुपर्ने हो । तर, अहिलेसम्म निर्माणले गति लिन सकेको छैन ।

 

महानगरले पारित गरेको डिजाइनअनुसार पोखरी परिसरमा खुला व्यायामशाला, ब्याडमिन्टन र बाँस्केटबल कोर्ट रहनेछ ।

 

सौन्दर्यीकरण गर्न कमलपोखरीको पूर्वी भागमा मूल प्रवेशद्वार बन्ने, पोखरीको चारै कुनामा ४-४ मिटरको पाटी निर्माण गरिनेछ ।

 

यस्तै, बालबालिकाका लागि खुला पार्क, बिजुली बत्ती जडान र पोखरीका चारै कुनामा कमलका फूल राख्नेलगायत योजना छन् । तर, यो योजनालाई सम्पदा अभियन्ताले अस्वीकार गरेका छन् ।