नवलपरासी पश्चिम- गण्डकी प्रदेशले भारतीय सीमासँग जोड्न निर्माण थालिएको त्रिवेणीधाम-दुम्किबास गजेन्द्रमोक्ष जनता मार्गको सोमबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।
साविक नवलपरासीमा पर्ने यो क्षेत्र संघीयता कार्यान्वयनसँगै नवलपरासी पूर्वमा पर्छ ।
नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ देखि दुम्किबाससम्म जोड्ने निर्माणाधीन त्रिवेणी-दुम्किबास-गजेन्द्रमोक्ष जनता मार्गको निरीक्षणका क्रममा मन्त्री गुरुङले त्रिवेणी क्षेत्रका स्थानीयसँग जानकारी लिए ।
गण्डकी प्रदेशमा पर्ने त्रिवेणी क्षेत्रका बासिन्दा सदरमुकाम कावासोती आउन सडक अभाव र अपायक पर्ने भएका कारण बर्दघाट पुगेर पूर्व जानुपर्ने बाध्यता छ । यो सडक सम्पन्न भएपछि भने त्रिवेणीधाम क्षेत्रका २ वटा वडाका बासिन्दालाई सहज हुनेछ ।
गण्डकी प्रदेशमा पर्ने त्रिवेणीधाम लुम्बिनी प्रदेश र भारतको बिहारसँग सीमा जोडिन्छ । यो स्थल धार्मिक पर्यटनको हिसाबले प्रख्यात छ ।