close

अपांगमैत्री विद्यालय भवन बनाउँदै झिमरुक 

अपांगमैत्री विद्यालय भवन बनाउँदै झिमरुक 

Trulli
ADVERTISEMENT

प्युठान- प्युठानको झिमरुक गाउँपालिकाले सौतामारेमा अपांगमैत्री विद्यालय भवन निर्माणलाई तीव्रता दिएको छ । झिमरुक गाउँपालिका वडा नम्बर १ सौतामारेको अमर सिंह माविमा अपांगमैत्री ४ कोठे भवन निर्माण सुरु गरेको हो ।

 

भवन जीर्ण हुनुका साथै उच्च मावि सञ्चालनका लागि कोठा अभाव भएपछि चालू आवमा बजेट व्यवस्था गरेर भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीले बताए । 

 

चालू आर्थिक बर्षमा गाउँपालिकाले अमर सिंह मावि सौतामारेलाई ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष जिसीले जानकारी दिए ।


गाउँपालिका भौतिक पूर्वाधार तथा भवन नियमन शाखा प्रमुख इन्जिनियर निरज शाहका अनुसार शिक्षा विभागको डिजाइनअनुसार भवन निर्माण थालिएको छ । उनले भने, ‘भवन भूकम्प प्रतिरोधी र अपांगमैत्री बन्नेछ ।’

 

निर्माण हुन लागेको भवनको लागत अनुमान ५१ लाख रुपैयाँ रहेको शाखा प्रमुख इन्जिनियर शाहले जानकारी दिए । 

 

उपभोक्ता समितिमार्फत काम गर्ने गरी भवन चालू आर्थिक वर्षको अन्त्यमा सक्ने सम्झौतामा उल्लेख छ । भवन निर्माणका लागि विद्यालयले समेत आन्तरिक स्रोतबाट ४ लाख रुपैयाँ साझेदारी गरेको प्रधानाध्यापक रामबहादुर जिसीले बताए । उनले भने, ‘भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने अपेक्षा लिएका छौँ ।’ 


४ कोठे भवन निर्माणमा जनश्रमदान १५ लाख रुपैयाँ रहेको उपभोक्ता समितिका अध्यक्ष निमबहादुर सुनारले बताए । ‘उपभोक्तामार्फत योजना सञ्चालन गर्दा अनिवार्य १० प्रतिशत जनश्रमदान गर्नुपर्ने हुन्छ,’ उनले भने ।

 

विद्यार्थी चाप र ११ र १२ कक्षा सञ्चालन गर्न कठिनाइ भएपछि भवन निर्माण थालिएको वडाध्यक्ष ध्रुव खनालले बताए । 

 

झिमरुकको वडा नम्बर ३ आहाल खोलाको प्रभाव माविका लागि ४ कोठे भवन निर्माणका लागि बजेट व्यवस्था गरिएको छ । यो भवन पनि छिट्टै निर्माण प्रक्रिया अगाडि बढाइने पालिकाले बताएको छ ।