close

कालीगण्डकीको कारिकोट-चण्डीभञ्ज्याङ सडक कालोपत्रे हुँदै 

कालीगण्डकीको कारिकोट-चण्डीभञ्ज्याङ सडक कालोपत्रे हुँदै 

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको कारिकोट-चण्डीभञ्ज्याङ सडकमा कालोपत्रे सुरु भएको छ । 

 

दुर्गम क्षेत्रको रूपमा परिचित हुँदै आएको उक्त स्थानमा सडक कालोपत्रे गर्न थालिएपछि सुगम बन्नेछ । २०७२ को भूकम्पपछि बैघादेखि रिडीसम्मको सडक कालोपत्रे गर्ने कार्यको जिम्मेवारी सगुन कन्स्ट्रक्सनले पाएको थियो ।


पहाडी क्षेत्रमा रहेको साँघुरो सडकलाई विस्तार गरी हाल करिब १७ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको सगुन कन्स्ट्रक्सन प्रालिका साइट म्यानेजर अपलेन्द्र अधिकारीले बताए ।


सडक कालोपत्रे अन्तिम चरणमा पुगेको जिल्ला आयोजना कार्यान्वयन इकाइ स्याङ्जाका इन्जिनियर सुशील भुसालले जानकारी दिए ।

 

सडक निर्माणका क्रममा विभिन्न समस्या आइपरे पनि समयमै निर्माणले गति लिएको अधिकारीको दाबी छ ।

 

कालीगण्डकी गाउँपालिकामा मिर्मीदेखि धारापानी, धारापानीदेखि रानीघाट र बैघादेखि रिडी गरेर ३ खण्डमा विभाजन गरी सडक कालोपत्रे सुरु भएको थियो । यसमध्ये सबैभन्दा दुर्गममा अवस्थित यो क्षेत्रमा सडक कालोपत्रे ढिलो सुरु भएर छिटो निर्माण भएकामा स्थानीय खुसी छन् ।

 

हालसम्म धारापानीदेखि बैघासम्म वर्षाको समय हिलो र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता स्थानीयलाई हट्नेछ ।


सडक निर्माणको मुख्य काम पूरा भएको जानकारी दिँदै इन्जिनियर भुसालले कोरोना कहरका कारण बीचमा निर्माण अवरुद्ध नभएको भए यसअघि नै योजना पूरा भइसकेको हुने दाबी गरे ।