close

जनप्रतिनिधिले गरे निर्माणाधीन आयोजनाको संयुक्त अनुगमन 

जनप्रतिनिधिले गरे निर्माणाधीन आयोजनाको संयुक्त अनुगमन 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- सांसद, जिल्ला समन्वय समिति प्रमुख र गाउँपालिका अध्यक्षसहितको टोलीले निर्माणमा ढिलासुस्ती देखिएका विभिन्न योजनाको अनुगमन गरेको छ ।

 

संघीय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, मोलुङ गाउँपालिका अध्यक्ष मणिराज राई, वडा अध्यक्षहरू, प्रमुख जिल्ला अधिकारी बन्दना राईसहितको टोलीले अनुगमन गरेका हो ।

 

मोलुङ गाउँपालिकाअन्तर्गत निर्माणाधीन ओखलढुंगा-रामपुर सडक कालोपत्रे, रामपुरस्थित स्वास्थ्य चौकी भवन, मोलुङ खोला मान्द्रे दोभानको पक्की पुलको अनुगमन गरिएको हो । ती आयोजनामा भएको ढिलासुस्ती, कामको गुणस्तर र समयसीमाबारे छलफल भएको थियो । 

 

निर्माण व्यवसायी, सरोकारवाला तथा स्थानीय तहका जनप्रतिनिधिसहितको छलफलपछि समयमै काम सक्न र गुणस्तरीय निर्माण गर्न निर्देशन दिइएको सांसद यज्ञराज सुनुवारले बताए ।

 

उनले ओखलढुंगा रामपुर सडक जेठ १५ भित्र कालोपत्रे सम्पन्न गर्न निर्देशन दिइएको र रुम्जाटार खण्डमा भएको त्रुटिले काम नसकिँदै सडक भत्किएपछि निरन्तर अनुगमन गरेर गुणस्तर कायम गर्न दबाब दिइएको जानकारी दिए । 

 

त्यस्तै, टोलीले १० वर्षदेखि निर्माणाधीन मोलुङ खोलाको मान्द्रे पुलको पनि अनुगमन गरेको छ । वर्षौंसम्म अलपत्र उक्त पुलको पटक-पटक म्याद थपे पनि अझै पूरा हुन सकेको थिएन । 

 

उक्त पुलका विषयमा सांसद सुनुवारले संसद्को विशेष समयमा सरकारको ध्यानाकर्षण गराएका थिए । चौतर्फी दबाबपछि अहिले ठेकेदारले धमाधम काम थालेको छ । 


त्यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माणाधीन सरस्वति मावि बुङ्नामको भवन अनुगमन गरिएको छ । विद्यालय भवन निर्माण तथा त्यसको गुणस्तरबारे छलफल गरिएको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव दीपक फुयालले जानकारी दिए । 

 

मोलुङ गाउँपलिका वडा नम्बर १ को कुन्तादेवीमा भएको आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिएको छ । सुनुवारले आगोले घर जलेर समस्यामा परेका आगलागीपीडित हर्कमाया प्रधानलाई आर्थिक सहायता तथा खाद्यन्न सहयोग गरिएको छ । 

 

त्यस्तै, पुनः निर्माणका समस्याबारे छलफल गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत संयोजक रहेको जिल्ला सहजीकरण समितिको बैठकसमेत सांसद सुनुवारले राखेर समस्या समाधान गर्न पहल गरेका थिए ।