close

जैमिनीका सबै गाउँ सडककाे पहुँचमा

जैमिनीका सबै गाउँ सडककाे पहुँचमा

Trulli
ADVERTISEMENT

बागलुङ– स्थानीय सरकार गठन भएपछि बितेका ४ वर्षमा बागलुङको जैमिनी नगरपालिकाले ४ किलोमिटर पक्की सडक र साढे ४ किमि पक्की नाली निर्माण गरेको छ । जैमिनीमा १ मिटरसमेत कालोपत्रे सडक थिएन ।

 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र नगरपालिकाको लगानीमा ४ वर्षमा ४ किमि सडक निर्माण गरिएको हो । ४ वर्षका कामको १८ बुँदे विवरण सार्वजनिक गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले सडक, शिक्षा, पर्यटन र भवन निर्माणलाई प्राथमिकताका साथ सम्पन्न गरिएको दाबी गरे ।

 

विवरणअनुसार पालिका मुकाम कुश्मीसेरा बजार र जिल्ला सदरमुकाम बागलुङ बजार कालोपत्रे सडकले जोडिने क्रममा छ । प्रदेश र संघीय सरकारको लगानीमा एसियाली विकास बैंकले बनाएको बागलुङ कुश्मीसेरा सडक कालोपत्रे भइरहेकाले अब समस्या नहुने नगरप्रमुख पौडेलले उल्लेख गरे ।

 

४ वर्षअघि सडक सञ्जालले नछोएको साविकको छिस्ती गाविसमा सडक पुगेको छ । हालको वडा नम्बर ८ का सबै गाउँ सडक सञ्जालमा जोडिएका छन् ।

 

‘मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोडेर १३ वटा दिगो विकास सडक निर्माण भइरहेका छन्’ विवरणमा भनिएको छ, ‘अब सडकदेखि १५ मिनेटको दूरी बाहिर नगरका कुनै पनि बस्ती छैनन् ।’

 

४ वर्षमा ३४१ किलोमिटर कच्ची सडक र १६ किलोमिटर कच्ची सडक नाली निर्माण भएको नगरपालिकाले जनाएको छ । गुमनाम रहेका पर्यटकीय स्थलको प्रचारमा सफलता मिलेको विवरणमा उल्लेख छ । हाँडीकोट, जैमिनीधाम र गाजा दहको प्रचार–प्रसार गरेर त्यहाँ पूर्वाधार विकासका लागि डिपिआर तयार भइसकेको छ । 

 

शिक्षा क्षेत्रमा क्षमता विकास र तालिमलाई प्राथमिकता दिइएको उल्लेख छ । स्वास्थ्य क्षेत्रमा ७ वटा नयाँ भवन निर्माणलाई ४ वर्षको उपलब्धिका रूपमा उल्लेख गरिएको छ । सुकुम्बासी समस्या समाधानलाई पहिलो वर्षदेखि नै कार्यक्रम बनाएको नगरले ४ वर्षमा ५० प्रतिशत सुकुम्बासीको घर निर्माण गरेको उल्लेख छ । 

 

८३ परिवारमध्ये बाँकी रहेका सबै परिवारको चालू वर्षमा घर बनिसक्ने नगरप्रमुख पौडेलले बताए । कृषि र पशुपालनको क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको नगरले ‘नगरप्रमुख कृषि पल्टन परियोजना’ र ‘नगरप्रमुख पशु पल्टन परियोजना’ सञ्चालनमा रहनुलाई उपलब्धि भनेको छ । नगरको प्रशासनिक भवनका लागि जग्गा प्राप्ति र वृद्धाश्रम निर्माण पनि नगरका महत्त्वपूर्ण कामको सूचीमा समावेश छन् । 

 

कानुन निर्माणमा संघ र प्रदेशका कानुनलाई पछ्याएको नगरले १४ वटा ऐन, २ वटा नियमावली, २४ वटा कार्यविधि, ३ निर्देशिका, मार्गदर्शन २ र आचार संहिता १ तयार गरेको उल्लेख छ । विपद् व्यवस्थापन र उद्धारलाई समेत नगरले महत्त्वपूर्ण कामको सूचीमा राखेको छ ।