सोलुखुम्बु- सडक विकासको सूचक हो । समृद्धिको सेतु हो । तर, यही सडक कसैका लागि भने कहिले नआउने समृद्धि हो । सधैँको दुःख हो अनि अनगिन्ती पीडा हो । त्यसमाथि जब वर्षा सुरु हुन्छ तब सडक हिँडिनसक्नुको हुन्छ । मानिस नै हिँड्न नसक्ने सडकमा गाडी जाने त सम्भावना नै भएन ।
सडकमा हिँड्न नै मुस्किल हुँदा भोलि कोही बिरामी भए एम्बुलेन्स पनि जान सक्ने अवस्था छैन । यो नियति हरेक वर्ष सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दोहोरिने गर्दछ । सडकको अवस्था यति नाजुक छ कि यहाँ गाडीले यात्रुलाई होइन यात्रुले गाडीलाई गन्तव्यमा पुर्याउनुपर्ने अवस्था छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा अधिकांश ग्रामीण भेगका सडक कालोपत्रे गरिएको, सडक दुई र चार लेनको बनाइएको फहेरिस्त सुनाउने गर्दछन् । तर, प्रधानमन्त्रीले पाएको सूचना नै गलत हो भन्ने कुराको प्रमाण ग्रामीण यि सडकका नाजुक दृष्य नै काफी छन् ।
गजगजी हिलो । लाग्छ, रोपाइँका लागि खेत भिजाइएको छ । रोपाइँ सुरु हुन लागेको जस्ताे देखिन्छन् सोलुखुम्बुको लिखुपिके क्षेत्रका सडक । गाउँपालिकाको जोगिडाँडा, चम्मरगाउँ, लेलपु, रमिते हुँदै कुँडार जोडिने ग्रामीण सड्कको अवस्था कन्तविजोग छ । कोही बिरामी भइहाले एम्बुलेन्स, मोटरसाइकलसम्म जाने अवस्था छैन ।
ग्रामीण क्षेत्रका कच्ची सडक, त्यही माथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण छ । वर्षाका कारण कच्ची सडक ठाउँ-ठाउँमा भत्किनुका साथै हिलाम्मे भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । यात्राको करिव आधा समय गाडी धकल्दैमा बिताउँछन्, यात्रु ।
खासमा गाडीले यात्रुलाई गन्तव्यमा पुर्याउनुपर्ने हो तर लिखुपिकेमा भने यात्रुले गाडीलाई गन्तव्यमा पुर्याउनुपर्ने बाध्यता छ । यो सडक खण्डमा हिलाम्मे बाटोले यात्रु जोखिम मोल्दै हिँड्ने गरेका छन् । गाउँपालिका सडकको अवस्थाका बारेमा जानकारी नै छ । सडक स्त्तरोन्नती गर्ने विषयमा भने उसँग पनि कुनै जवाफ छैन ।
लिखुपिकेमा सबै सडक कच्ची छन् । अन्य सडकमा वर्षेनी मर्मतमा खर्च हुने गर्छ तर, यो जोगिडाँडा सडक खण्डमा भने कसैको ध्यान नगएको गुनासो स्थानीयको छ । यसले गर्दा सडकको अवस्था विजोग हुने गरेको छ । ठेकेदारको लापरवाही र राज्यका अनुगमन गर्ने निकाय फितलो हुँदा ग्रामीण सडकको अवस्था निकै कमजोर देखिएको छ ।