close

बाढीले क्षतिग्रस्त शिवाई पुल : मन्त्रालयको टोलीले थाल्यो स्थलगत अध्ययन 

बाढीले क्षतिग्रस्त शिवाई पुल : मन्त्रालयको टोलीले थाल्यो स्थलगत अध्ययन 

Trulli
ADVERTISEMENT

उदयपुर– गत १९ असारमा आएको बाढीले क्षतिग्रस्त उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको अध्ययनका लागि मन्त्रालयबाट टोली आएको छ । 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको प्राविधिकको टोलीले निरन्तरको वर्षापछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीमाथिको निर्माणाधीन पक्की पुल बगाएर क्षतिग्रस्त बनाएपछि स्थलगत अध्ययन थालेको हो ।

 

त्रियुगा नदीमा आएको बाढीले निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको मोटरेबल पक्की पुल बाढीले बगाएको थियो । 

 

मन्त्रालयले संघीय सडक सुपरिवेक्षण अनुसन्धान कार्यालय दमकका सुपरिटेन्डेन्ट इन्जिनियर नवीनमान श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय अध्ययन टोली गठन गरेको थियो ।

 

टोलीमा सडक विभाग पुल महाशाखाका सिनियर इन्जिनियर ईश्वरबहादुर रिजाल र पुल नम्बर १ इटहरीका इन्जिनियर नीति झाको टोलीले शिवाईमा स्थलगत अध्यायन थालेको छ । 

 

प्रारम्भिक अध्ययनका क्रममा देखिएको समस्यालाई रिपोर्ट बनाएर मन्त्रालयमा बुझाउने र विस्तृत अध्ययनमा नदीमा पानी घटेपछि मात्र गर्न सकिने संयोजक श्रेष्ठको भनाइ छ । 

 

३७ मिटर लम्बाइ, १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाईतर्फको पहिलो, दोसो र तेस्रो पिलर नदीमा भासिएपछि दुई टुक्रा भएको थियो । 

 

शिवाईतर्फको पहिलो, दोस्रो र तेस्रो पिलर भासिएपछि एउटा स्लाब नदीमा झरेर क्षतिग्रस्त भएको छ भने अर्को स्लाबमा पनि काम नलाग्नै गरी क्षति पुगेको छ । 

 

१२ वर्ष लगाएर निर्माण गरिएको उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित शिवाई–बेल्ही जोड्ने पुल निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेका बेला शिवाईपट्टिको पिलर भासिएर पुल क्षतिग्रस्त भएको नगरप्रमुख खगेन्द्र राईले बताए ।

 

आर्थिक वर्ष २०६७ देखि निर्माण सुरु भएको पुल पटक–पटक म्याद थप गरेर बल्ल हस्तान्तरण भई सञ्चालनको अन्तिम तयारीमा रहेका बेला बाढीले बगाएको
हो  ।

 

‘पुलसँग सडकलाई जोड्ने दुवैतिर बाँध तथा एप्रोच सडक निर्माण सम्पन्न भएर पुल हस्तान्तरण गर्ने योजना भइरहेका बेला बाढीले पुल क्षतिग्रस्त बनायो’, गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले भने, ‘लामो समयको प्रतीक्षापछि असारमा पुल हस्तान्तरण र सञ्चालनको तयारीमा थियो । 

 

निर्माण कम्पनी महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंका प्रतिनिधि केदारप्रसाद तिम्सिनाका अनुसार ७.७५ मिटरको मात्र पिलर भएकाले धसिएको हुन सक्छ । पुल निर्माण गरिएको स्थानमा ९ मिटरसम्म बालुवा भएको तर डिजाइन ७.७५ मिटर मात्र छ । 

 

तिम्सिनाका अनुसार बालाजु काठमाडौंका स्वाइल टेस्ट गर्ने कन्सल्टेन्ट कम्पनीले गलत डिजाइन गरेकाले निर्माणमा ढिलाइ हँुदै आएको थियो । सडक विभागले कन्सल्टेन्सीले दिएको रिपोर्टअनुसार ओपल फाउन्डेसन असफल भएपछि पुनः दोस्रो डिजाइनमा काम गरेकाले ढिलाइ भएको हो ।

 

ढिलै भए पनि पुल निर्माण सम्पन्न भएपछि स्थानीय खुसी थिए । पुल निर्माणको लागत करिब ११ करोड २७ लाख रुपैयाँ रहेको छ । ९ करोड ७६ लाखमा ठेक्का सम्झौता गरिए पनि मूल्य समायोजनका कारण लागत बढ्न गई ११ करोड २७ लाख रुपैयाँ पुगेको थियो ।

 

पुल निर्माणमा ढिला गरेका कारण निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब १ करोड जरिमानासमेत तिराइएको थियो । पुलमा बाढीले ४ करोड रुपैयाँ बढीको क्षति गरेको अनुमान छ ।