close

इनरुवामा स्ट्रिट पार्क सञ्चालन तयारी अन्तिम चरणमा

पार्क निर्माणले नगरलाई थप सुन्दर बनाउने 

इनरुवामा स्ट्रिट पार्क सञ्चालन तयारी अन्तिम चरणमा

पार्क निर्माणले नगरलाई थप सुन्दर बनाउने 

Trulli
ADVERTISEMENT

 सुनसरी- इनरुवामा दोस्रो स्ट्रिट पार्क सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ । इनरुवा वडा नम्बर ३ मा एमआर स्ट्रिट पार्क सञ्चालनमा आएपछि त्यसकै अवधारणामा अहिले वडा नम्बर २ मगरटोल-कुसुमगाछीका स्थानीय पार्क निर्माणमा जुटेका हुन् ।


उनीहरू अहिले घर अगाडिको सडकपेटीलाई फूलबारीसहित शृंगार्दै स्ट्रिट पार्क निर्माण अभियानमा लागेका छन् । इनरुवाको जंगल झोडा फडानी गरी मानिसको बसोबास गराउने क्रममा स्थापना भएको मगरटोलबासीले घर अगाडिको चौडा सडकपेटीलाई रङरोगन र सरसफाइ गरी फूलबारी लगाएर स्ट्रिट पार्क निर्माण थालेका हुन् ।


स्थानीय हिमाल थापा मगरका अनुसार इनरुवाको पुरानो बसोबास रहेको बस्तीमा वर्षौं पछाडि सडक फराकिलो चौडा भएपछि यहाँका युवाको अगुवाइमा सरसफाइ र सजावट सुरु भएको हो ।


उनले बजारमा व्यापार व्यवसाय हुने भएकाले नजिक रहेको मगरटोल-कुसुमगाछीको बस्तीमा बिहान मर्निङवाक र साँझमा स्थानीय परिकारको मजा लिँदै स-परिवार स्ट्रिट पार्क घुम्न आउने वातावरण निर्माणका लागि इनरुवा नगरपालिका र स्थानीयको सहकार्यमा सजावट र फूल बिरुवा लगाइएको बताए । मगरटोल-कुसुमगाछी स्ट्रिट पार्क निर्माण समितिका सुजित राना मगरका अनुसार नगरपालिकाको सहयोगमा मगरटोलमा रहेको साविकको पिपलगाछीदेखि कुसुमगाछी बबियाको सीमा क्षेत्रसम्म ७५ फिट चौडाइको सडकमा स्ट्रिट लाइट जडान, कंक्रिटका ठूला गमला राख्ने, कंक्रिट आराम चेयर राख्नेलगायत काम गरिएको छ ।


पार्क निर्माणमा उपभोक्ता समितिको जिम्मेवारी पाएका सुजितले दस फिटको फरकमा ४ सय ८० वटा गमला र ४ सय ८० वटा स्ट्रिट लाइट जडान, ३० वटा कंक्रिट चियर, २५ वटा मेटल चियर, फोहोरमैला संकलन गर्ने डस्टबिन ३० थान, ८ वटा स्ट्रिट फुड स्टल, स्मोकिङ जोनलगायत व्यवस्थापन गरिएको जानकारी दिए ।


सडकपेटीको एजिङ डिभाइडरमा रङरोगन, लेन छुट्टाउने डिभाइडरमा विभिन्न जातका फूलका बोटबिरुवा रोप्ने, पीपल र कुसुमको प्रतिमा भएको स्थानमा लाइट जडानलगायत काम पूरा गरिएको छ ।


निर्माण समितिका शशी थापा मगरले इनरुवा नगरपालिका र स्थानीयको सहकार्यमा निर्माण सुरु गरिएको स्ट्रिट पार्कमा स्ट्रिट जिम स्थापना गर्न मेयर राजन मेहताले योजना बनाएकाले स्वास्थ्यका लागि व्यायाम र स्थानीय परिकारको स्वाद लिन स्ट्रिट फुड स्टलले इनरुवासँगै आसपासका मानिसलाई साँझ बिहान आउने वातावरण बनाउन सबै गाउँलेको अथक मिहिनेत रहेको सुनाए ।