close

खैरेनीटार-भीमाद सडक : कालोपत्रे उप्किएर तलाउ बनेपछि छिचोल्नै सकस

खैरेनीटार-भीमाद सडक : कालोपत्रे उप्किएर तलाउ बनेपछि छिचोल्नै सकस

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको खैरेनीटार-भीमाद सडकको ठाउँ–ठाउँमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् । खाल्डामा बर्खाको पानी जम्दा पोखरीजस्तै देखिन्छ ।

 

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्याउली बजार र म्याग्दे गाउँपालिका वडा नम्बर ५ थाङ्दीदेखि भीमादको पुलसम्म दुरावस्था छ । कतिपय स्थानमा सडकको कालोपत्रे देख्नै मुस्किल हुन्छ ।

 

भीमाद नगरपालिकाको प्रवेशद्वारमा खाल्डाखुल्डी छन् । यो वर्ष ठूलो पानी परेपछि झन् पहिरोको जोखिम पनि बढेको छ । सडक साँघुरो हँुदा दुर्घटनाको जोखिम पहिल्यैदखि थियो । अहिले सडकमा ठूल्ठूला खाल्डा र पहिरोले झनै दुर्घटनाको जोखिम बढाएको छ ।

 

कालोपत्रे गरिएको यो सडक खण्ड छिचोल्न सवारी चालक र यात्रुलाई सास्ती हुन्छ । ग्रामीण सडकमा भन्दा बढी सास्ती छ । ‘खाल्डाखुल्डीले बाटो छिचोल्न साह्रै अप्ठेरो हुन्छ । पहिलाभन्दा धेरै समय लाग्ने भएको छ । गाडीको मर्मत खर्च पनि बढाएको छ यो बाटोले’, भीमाद बजारका गणेश सुवेदीले भने । 

 

बर्खा लागेपछि झन् पहिरोले त्राहिमाम हुँदै बाटो काट्नुपरेको उनले बताए । बर्सेनि यो सडक भत्कने समस्या रहेपछि टालटुलबाहेक दीर्घकालीन उपाय नअपनाइने उनको भनाई छ । यो सडकको विकल्प अरू सडक नभएकाले पनि गुणस्तरीय मर्मतमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

 

सडकको दुरावस्थाका कारण पानी पर्दा जलमग्न र घाम लाग्दाको बखत बुङबुङ्ती धुलो उड्ने समस्याले सडक आसपासका बासिन्दालाई पनि आजित बनाएको छ ।

 

सडकको अवस्थाबारे जानकार भए पनि गाउँपालिकाको क्षेत्राधिकारमा नपर्ने हुँदा मर्मत गर्न नसकिएको म्याग्दे गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवबहादुर आले बताउँछन् । 

 

उनी भन्छन्, ‘सडकको हालत खराब छ । मर्मत गर्न गाउँपालिकाको क्षेत्राधिकारमा पर्दैन । सडक डिभिजनले हेर्ने सडक हो । मर्मतका लागि टेन्डर भएको सुनेको छु । असारबाट बन्छ भनिएको थियो । कहिले बन्ने हो अत्तोपत्तो छैन ।’

 

जनताले सडक कहिले बन्छ भनेर बारम्बार सोध्ने गरेको उनले सुनाए । सडक कहिले मर्मत हुन्छ भन्नेबारे आफू पनि अनविज्ञ रहेको वडाध्यक्ष आलेको भनाइ छ ।

 

खैरेनीटार-भीमाद सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले जानकारी दिए ।

 

उनले भने, ‘वैशाखमा ठेक्का सम्झौता भएको हो । ठेक्का लाग्नेबित्तिकै कोरोनाको बेला भएर काम सुरु भएन । अहिले बर्खामा कटिङ गरेर सडक चौडा बनाउँदा झन् हिलो हुने भएकाले काम सुरु नभएको हो । बर्खा सकिएपछि काम सुरु हुनेछ ।’ 

 

खैरेनीटार–भीमाद–भुमरीघाट–कावासोती सडक स्तरोन्नतिका लागि एमएस महालक्ष्मी हिमाली जेभी काठमाडौंले ठेक्का पाएको हो ।

 

७ करोड ४५ लाख २१ हजार रुपैयाँमा ठेक्का लगाइएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ । गत १३ वैशाखमा ठेक्का सम्झौता भएकामा १३ कात्तिक २०७९ सम्पन्न म्याद तोकिएको छ । 

 

यो भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ र घिरिङ गाउँपालिकाको प्रमुख सडक हो । यही सडक हँुदै नवलपुर, पाल्पा र स्याङ्जासम्मका सवारी र यात्रु आउजाउ गर्छन् ।