रुपन्देही- राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकोे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । २०७१ सालमा निर्माण सुरु भएको आयोजना सम्पन्न हुनै लाग्दा सरकारदेखि भैरहवाबासी निकै उत्साहित छन् । कोरोना भाइरसको महामारी नआएको भए अहिले विमानस्थल सञ्चालनमा आइसक्ने थियो । विभिन्न आरोह-अवरोह छिचोल्दै अब विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । जसका लागि छिट्टै परीक्षण उडान गर्ने तयारीसमेत गरिएको छ ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।
विमानस्थलको बाह्य संरचनाको काम सकिएको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी छ । क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँच÷सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ ।
उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुने गर्दछ । परीक्षण उडान गर्न लागि एरो थाईसँग सम्झौता गरिएको छ । तर, परीक्षण उडान हुने मिति भने अझै टुंगिएको छैन ।
विमानस्थलको अहिले सम्म ९७ प्रतिशत भौतिक निर्माण भएको छ । विमानस्थलमा धावनमार्ग , ट्याक्सी वे, टर्मिनल भवन , विमानस्थल पार्किङ्ग क्षेत्रका काम सकिएको छ । कोरोना संक्रमणको कारणले विदेशमा रहेका कामदारलाई ल्याउन नसक्दा टर्मिनल भवनमा उपकरण जडानको काम प्रभावित हुँदा आयोजनाको समय बढी लागेको देखिने विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थल सञ्चालनको लागि आवश्यकता पर्ने मुख्य पूर्वाधार अहिले पनि निर्माण भइरहेको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत रु ६ अर्ब ८२ करोडको काम भएको छ । दोस्रो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ ।
यो रकममा नेपाल सरकारको ३७ दशमलव ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी छ । भैरहवा विमानस्थल नेपाल–भारत सीमा नजिक छ । अन्तर्राष्ट्रिय उडानका जहाजले भारतीय आकाश छुन सक्ने अवस्थामा छुट्टाछुट्टै अनुमति लिनुपर्छ । यसले गर्दा हरेक उडान प्रभावित हुन सक्छ । यसकारण, विमानस्थल संचालनमा आउनु अगाडि नै उडानबारे नेपाल–भारत सम्झौता गर्नु आवश्यक छ ।