close

पशुपतिमा साँढे, मैनामैनीमा बँदेल !

पशुपतिमा साँढे, मैनामैनीमा बँदेल !

Trulli
ADVERTISEMENT

उदयपुर- पालिकालाई समृद्ध बनाउन गाउँका सरकार तल्लीन छन् । पालिकालाई समृद्ध बनाउन र  आन्तरिक आम्दानी बढाउन यतिबेला पर्यटन विकासको लहर चलेको छ । 


उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनी यति खेर चर्चाको शिखरमा छ । स्थानीय तहको सरकार निर्माणपछि देशका विभिन्न स्थानमा गाउँ विशेष पहिचान झल्कने र गुमनाम रहेका संस्कार र संस्कृतिलाई प्रर्वद्धन गर्ने काममा जोड तोडका साथ लागेको देखिन्छ । 


बेलका नगरपालिका- ७ मैनामैनी पौराणिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण स्थान हो । बराह पुराणमा उल्लेख भए अनुरुप मैनामैनीबाट बराह (अबतार) भगवान बराह क्षेत्रमा गएको भनिएको छ । बराह क्षेत्र धार्मिक हिसाबले अतिनै महत्वपूर्ण स्थान भएकाले बराह क्षेत्र र मैनामैनीलाई जोड सकेको मैनामैनीको बिकासमा टेवा पुग्ने छ । 


काठमाडौंको पाशुपत क्षेत्रको साँढेजस्तै यो क्षेत्रमा भगवान विष्णुको अवतार मानिने बँदेलको प्रतिमा राख्ने काम धमाधम अघि बढिरहेको स्थानीययको भनाइ छ । 


मैनामैनीबाट नै बराह भगवानले हाम्फालेकाले बेलका नगरपालिकाले मैनामैनीमा बराह भगवानको ठुलो प्रतिमा स्थापनाको काम धमाधम अन्तिम चरणमा छ  । बेलका नगरपालिका–७ मैनामैनीको मुलगाउँमा नगरपालिकाको लगानीमा १६ फिट लम्बाई र १२ फिट उचाइको बराह भगवानको प्रतिमा निर्माणको काम भइरहेको छ । 


बराह क्षेत्र र मैनामैनीलाई जोड्ने उद्धेश्यले बराह भगवानको प्रतिमा स्थापना गरिएको हो । बेलका नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा बजेट विनियोजन गरी निर्माण थालेको थियो । नगरपालिकाले बहुवर्षीय योजना बनाएर निर्माण थालिएको बराह भगवानको प्रतिमा चालु आर्थिक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

 

६७ लाख ८० हजारको लागतमा १६ फिट लम्बाई र १२ फिट उचाई रहेको बराह भगवानको प्रतिमा निर्माण भइरहेको छ । बराहको प्रतिमाको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरेकोे नगरप्रमुख दुर्गा कुमार थापाले बताए । 

 

प्राज्ञ धनु याख्खासहितका कलाकारले डिजाइन बनाइरहेका छन् । अहिले चाहिँ मूर्तिको मात्र काम भइरहेको छ । चालु आर्थिक वर्ष पार्कका लागि थप २० लाख बजेट प्रदेश सरकारले बिनियोजन गरेको छ । त्यसको ठेक्काको काम बाँकी रहेको नगर प्रमुख थापाले बताए ।

 

स्थानीयबासी केदार राईले निःशुल्क रुपमा उपलब्ध गराएको ३ रोपनी जग्गामा बराहको प्रतिमा स्थापना भइरहेको र आगामी कात्तिकसम्ममा निर्माण सकेर उद्घाटन गर्ने योजनामा नगरपालिका छ  ।  

 

अघिल्लो २ वर्षदेखि बनाउन सुरु गरिएको बराहको प्रतिमा निर्माणको काम लगभग ८० प्रतिशत सकिएको छ । ‘दाह्रा, पुच्छर बनाउन र रंगरोगन गर्न बाँकी छ’, नगर प्रमुख थापाले भने । थापाका अनुसार बराह भनेको जंगली सुँगुर अर्थात बँदेल हो । बराहको प्रतिमा बनाएको क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल बराह क्षेत्र तथा चतराधाम वारिपारि पर्दछ । बीचबाट सप्तकोशी बगेको छ ।

 

नगरपालिकाको पहाडी क्षेत्र अर्थात अग्लो भागमा पर्ने यो क्षेत्रबाट हेर्दा सुनकोशी, अरुण र तमोरको संगमस्थल त्रिवेणी लगायतका क्षेत्र पनि देखिन्छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पर्यटन पवर्बद्धन कार्यक्रम अनुरुप बराहको प्रतिमा बनाएको उनको भनाइ छ ।


    बराहको प्रतिमा नजिकै कोलुङ झरना पनि छ । आन्तरिक पर्यटनको विकासका लागि प्रतिमा स्थलमा पार्क बनाउने तयारी समेत रहेको नगर प्रमुख थापाले बताए । बराहको प्रतिमा बनाएको ठाउँ नजिक मैनामैनी मन्दिर छ । चतराको सोमवारेबाट १३ किलोमिटर माथि वैकल्पिक जोगबनी इहटरी चतरा मैनामैनी भोजपुर हुँदै किमाथाङका जोड्ने लोकमार्ग पर्ने नगर प्रमुख थापाले बताए । 

    मैनामैनी मुलगाउँमा बनाइएको बराहको प्रतिमा उचाइ १२ फिट छ भने लम्बाई १६ फिट रहेको यो नेपालकै ठुलो प्रतिमा हो । नगरपालिकाले ६७ लाख ८० हजार ?पैयाँ खर्च गरेर यहाँ धार्मिक पार्क बनाउन खोजेको हो । 
    बेलका नगरपालिका– ७ मैनामैनी मुलगाउँ सप्तकोशी नदीको किरानाको भीरमा अवस्थित मैनामैनी धाम पौराणिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण स्थान ओझेलमा परेको छ । 

पुरातात्विक महत्व बोकेको प्राचीन ऐतिहासिक धरोहरको ?पमा रहेको प्राकृतिक सम्पदाले भरिपूर्ण उदयपुरको मैनामैनी क्षेत्र प्रचार प्रसारको अभाबमा ओझेलमा छ । 

त्यहाँ सप्तकोशी नदि किनारा नजिकै रहेको मैनामैनी मन्दिरमा करिब २२ सय वर्ष पुरानो शिव पार्वतीको प्रस्तर मुर्ति र मन्दिर पनि सम्बन्धित निकायको बेवास्ताका कारण संरक्षण अभावमा जीर्ण छ । 


किराँत धर्म अनुसार पारुहाङ र सुम्निमा भन्ने गरिएका भगवान शिव र पार्वतीको  प्राचीन शीला र त्यस वरपर टुटफुटको अवस्थामा रहेका गणेश, कुमार, नन्दि, भृङ्गि लगायतका शिव गणहरुका अनेकौ प्रस्तर मूर्तिहरुको उत्खनन् र संरक्षण नगरिदा मैनामैनीको पुरातात्विक महत्वका अन्य कतिपय महत्वपूर्ण र अमूल्य बस्तुहरु नष्ट हुदै गएको मैनामैनी मन्दिरका स्थानीय पुजारी रामप्रसाद राई बताउँछन ।


मैना राजा र मैना रानीको सो मन्दिरको पूजारी परम्परागत प्रचलन अनुसार राई जातीको एउटै बंशबाट हुदै आएको छ । त्यसमा पनि जेठो छोराबाट हुदै आएको र आपूm भन्दा अगाडिका क्रमश थामबहादुर, थयसिंह, राजवीर, मोहनसिंह, पूर्णसिंह र बिचारी समेत छ पुस्तासम्मको नाम आपूmलाई थाहा भएको उनको भनाइ छ । 


 उदयपुरको इतिहासका अध्येता समेत रहेका पत्रकार  कौशल चेम्जोङका अनुसार १४०२ सालमा बंगालको नबाब राजा तुलत बंशी सम्सुद्विन इलियासले काठमाडौं आक्रमण गर्न जाने क्रममा मैनामैनीको मन्दिर तोडफोड गरेको इतिहास छ । उनले फुटेको मूर्तिमा हिन्दूहरुले पूजा गर्दैनन् भनेर बाटोमा पर्ने मैनाराजा मैना रानीको मन्दिर तोडफोड गरी त्यहाँ रहेको बहुमुल्य रत्नहरु लुटपाट लगेको किम्बदन्ती छ । 

 

चतरास्थित सप्तकोशीको पुलदेखि करिब दुई घण्टाको मोटर यात्राबाट पुग्न सकिने ऐतिहासिक एवं धार्मिक क्षेत्रको रुपमा परिचित हुँदै गएको मैनामैनीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धिको ढोका खोल्ने उद्देश्य रहेको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले बताए । 


मैनामैनीको विकासका लागि चतरा मैनामैनी हुँदै भोजपुर जोड्ने लोकमार्ग निर्माण भइरहेको नगर प्रमुख थापाले जानकारी दिए ।