close

रुकुम पूर्वका प्रादेशिक सडक खण्डका नदीमा मोटरेबल पुल निर्माणले गति लिँदै

रुकुम पूर्वका प्रादेशिक सडक खण्डका नदीमा मोटरेबल पुल निर्माणले गति लिँदै

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वमा प्रादेशिक स्तरीय सडक खण्डमा पर्ने खोला तथा नदीमा मोटरेबल पुल निर्माणले गति लिएको छ । सडक पूर्वाधार विकास कार्यालय रुकुम पूर्वबाट चालू आर्थिक वर्षमा दुई वटा मोटरेबल पुल निर्माण सम्पन्न हुँदै छ भने तीन वटा निर्माण सुरु गरिने भएको छ ।


चार वटा मोटरेबल पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले जानकारी दिए । सिस्ने गाउँपालिका वडा नम्बर ४ र ६ मा पर्ने सानीभेरी नदीमा लामो समयदेखि ८० मिटर लम्बाइको निर्माणाधीन मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख महत्रा क्षेत्रीले बताए ।

 

यसैगरी भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ बगरमा २५ मिटर लम्बाइको मोटरेबल पुल पनि अबको पाँच महिनामै निर्माण सम्पन्न हुने उनको भनाइ छ । 

 

भूमे वडा नम्बर ५ र सिस्ने वडा नम्बर ६ स्थित बालुवा रुकुमगाड खोला, सिस्ने वडा नम्बर ७ नाथीगाड खोला र महत-चुनबाङ सडक खण्डअन्तर्गत थबाङ खोलामा २५/२५ मिटर लम्बाइका मोटरेबल पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता गरी काम सुरु गरिने सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

 

बालुवाको रुकुमगाड खोला, सिस्ने वडा नम्बर ७ को नाथीगाड खोला र महत-चुनबाङ सडक खण्डको थबाङ खोला गरी यी तीन मोटरेबल पुल चालू आर्थिक वर्षमा काम सुरु गरी अर्काे आर्थिक वर्षमा तयार हुने बताइएको छ । 

 

महत–चुनबाङ सडक खण्डअन्तर्गत भूमे वडा नम्बर ९ चुनबाङको बन्चरे खोलामा एक र चुनबाङकै च्याङचुङ खोलामा तीन गरी चार वटा मोटरेबल पुल निर्माणका लागि चालू आर्थिक वर्षमा निर्माण प्रक्रिया अगाडि बढाइने र अर्काे आर्थिक वर्षबाट निर्माण थालिने कार्यालय प्रमुख महत्रा क्षेत्रीले बताए । 


प्रादेशिक स्तरीय सडक खण्ड अन्तर्गतमा पर्ने खोला एवं नदीमा यस आर्थिक वर्षमा निर्माण सम्पन्न हुने दुई, कामको थालनी गरिने तीन र निर्माण कार्य प्रक्रिया मात्र अगाडि बढाइने चार गरी ९ वटा मोटरेबल पुलले पूर्णता पाए वर्षायाममा अवरुद्ध हुने सडक खण्डमा बाह्रैमास सवारी साधन सञ्चालन हुनेछन् । 

 

अबको केही वर्षपछि यी ९ वटा मोटरेबल पुल निर्माण सम्पन्न भए जिल्लाको प्रादेशिक सडक खण्डअन्तर्गतका दुई÷तीन ठाउँबाहेकका अन्य खोला एवं नदीमा पुलको पहुँच हुनेछ ।