close

वालिङका १०० घरमा एक घर एक धाराको पहुँच

वालिङका १०० घरमा एक घर एक धाराको पहुँच

Trulli
ADVERTISEMENT

स्याङ्जा– शुद्ध खानेपानी अभावमा लामो समयदेखि समस्या भोग्दै आएका वालिङबासीका १०० घरमा एक घर एक धाराअन्तर्गत खानेपानीको पहुँच पुगेको छ ।

 

वालिङ नगरपालिका वडा नम्बर २ का राक्से, सिमलचौपारी र फुटेढुंगाका १०० घरधुरीमा एक घर एक धारा निर्माण गरिएसँगै खानेपानी अभाव हटेको हो ।


वालिङ नगरपालिकाको ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट ९ लाख ५० हजार गरी कुल ४० लाख रुपैयाँ लागतमा ३ वर्षमा खानेपानी योजना सम्पन्न भएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताए ।


‘ठूलो बस्ती रहेको यहाँका नागरिकलाई खानेपानीको निकै समस्या थियो’, वडाध्यक्ष लम्सालले भने, ‘वडामा निर्वाचित भएसँगै खानेपानीलाई प्राथमिकतामा राखेर काम गरेपछि अहिले प्रत्येक घरमा धारा जडान गरी २४ सै घन्टा शुद्ध खानेपानी उपलब्ध गराउन सफल भएका छौँ ।’

 

झल्र्याङ्दी मूलबाट करिब डेढ किलोमिटर टाढाबाट पानी ल्याई केराबारी गैह्रामा ७० हजार लिटर क्षमताको ट्यांकी निर्माण गरी घर–घरमा पानी वितरण गरिएको वडाध्यक्ष लम्सालले बताए ।

 

स–साना मूलबाट टुक्राटुक्री पाइप जोडेर केही घरले खानेपानी उपभोग गरे पनि उक्त पानी शुद्ध नभएको र अधिकांशले टाढाबाट बोकेर पानी खानुपर्ने बाध्यता अहिले हटेको राक्से, सिमलचौपारी, फुटेढुंगा खानेपानी योजना उपभोक्ता समिति अध्यक्ष बोधराज रेग्मीले जानकारी दिए ।


‘योजना सम्पन्न हुनुपूर्व यस ठाउँमा खानेपानीको निकै समस्या थियो । स्रोत कम थिए’, समितिका अध्यक्ष रेग्मीले भने, ‘ठूलो मूलबाट धेरै पानी ल्याएपछि अहिले खानेपानीका लागि दैनिक खर्चिनुपर्ने समय बचत भएको छ ।’


स्थानीयले प्रतिघर ५ हजार रुपैयाँका दरले रकम संकलन गरी मूल रहेको स्थानमा १२ आना जग्गा खरिद गरेका छन् । खानेपानी वितरण तथा मर्मतका लागि प्रतिघरपरिवार मासिक ६० रुपैयाँ संकलन गरिएको छ । यसबाट खानीपानी खोल्ने र बन्द गर्ने कर्मचारीलाई पारिश्रमिक र मर्मतसम्भारका लागि खर्च गर्ने गरिएको समितिका अध्यक्ष रेग्मीले बताए ।


खानेपानीको जोहोका लागि कुवा, खोल्सा खोल्सीमा गाग्री लिएर हिँड्नुपर्ने अवस्था अन्त्य भएसँगै यहाँका स्थानीयमा घर–घरमै धारा जडान भई खानेपानीको सहज पहुँच पुगेको छ ।